logo

सातै प्रदेशका सदस्यहरुद्धारा सपथ ग्रहण

काठमाडौं । प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो। आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराइएको हो ।

प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएका थिए। रावगीले अरु ९३ प्रदेशसभा सदस्यलाई शपथ खुवाए।
त्यसैगरी २ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथपत्रमा हस्ताक्षर गरेका छन्। कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपालीसहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो। प्रदेशसभा २ को पहिलो अधिवेशन माघ २१ गतेका लागि तय भएको छ। यहाँ तीन भाषामा सपथ भएको हो ।

यता, प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाइन्। पौडेलले ९९ जनालाई शपथ खुवाए। सपथ ग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । प्रदेश ३ को पहिलो बैठकको समय निश्चित भइसकेको छैन ।

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएका थिए। ६७ वर्षीय श्रेष्ठले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाएका छन्। मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिनबाट बञ्चित भएका छन्।

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाए। पोखरेलले ८६ सांसदलाई शपथ खुवाए। बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ भएको हो। प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेश सभा सदस्य छन्।

यसैबीच प्रदेश नम्बर ६ मा दिउँसो १ बजे शपथको कार्यक्रम छ। जहाज आउन ढिला भएपछि नेपाली सेनाको हेलिकप्टरबाट सांसदहरु ल्याउनु परेकाले शपथ ढिला भएको हो। प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदबहाली गरिसकेका छन्। उनले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाउने छन् भने शाहीले ३९ सांसदलाई शपथ गराउने कार्यक्रम छ। प्रदेश ६ मा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद छन्।

प्रदेश नम्बर ७ को शपथ ग्रहण भने ढिला भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ नै ढिला भएको हो। प्रदेश प्रमुख मल्ल धनगढी आएलगत्तै दुई बजे पदबहाली गरी ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाए । शाहले ५२ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउए भने अन्य ५३ जना सदस्यलाई शाहले सपथ खुवाएकी हुन् ।

यस्तो छ प्रदेश सभा सांसदको सपथ व्यहोरा
प्रदेश सभा सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् । उनीहरुको सपथ ‘ईश्वरको नाममा’ छ । सपथग्रहणको व्यहोरा नेपालीमा छ तर सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिए ।

उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखी इमान्दारीका साथ कामकाज गर्ने सपथ खाएका छन् । सपथको व्यहोराजस्तै कार्यशैली सांसदहरुले देखाउँछन् कि देखाउँदैनन् हेर्न बाँकी छ ।

Comments

Top