राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो। राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८–८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।यही माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय भएको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्दा माघ मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ । तर, ५९ सदस्यीय राष्ट्रियसभाका ५६ सदस्यहरुको निर्वाचन सम्पन्न भए पनि बाँकी ३ जनाको सन्दर्भमा दलहरुबीच कुरा मिलेको छैन ।

सोही व्यवस्थाअनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वकै सरकारले तीन सदस्यको पनि सिफारिस गरेर राष्ट्रपतिमार्फत मनोनित गर्न खोजेको छ । तर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले भने तीन सदस्य अर्को मन्त्रिपरिषद आएपछि मनोनयन गर्नुपर्ने बताएको छ ।

Comments

Top