डीडीसीका कर्मचारी तीन करोड पचाउने खेलमा

काठमाडौं ।दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेका छन् । यो रकम १० वर्षदेखि थुप्रिँदै आएको हो । स्रोतका अनुसार डीडीसी व्यवस्थापनले कर्मचारीबाट हिनामिना भएको यो रकम उठाउन सकेको छैन । कर्मचारीहरूले दूध र संस्थानका अन्य उत्पादन बिक्री गरे पनि संकलित रकम कार्यालयमा दाखिल नगर्ने गर्दा ठूलो रकम बक्यौता रहन गएको हो । योलगायत अनियमितताका कारण संस्थानको सञ्चित नोक्सानी हाल २१ करोड रुपैयाँ पुगेको छ ।

डीडीसीको आन्तरिक लेखा परीक्षणले औंल्याएको ३ करोड रुपैयाँ बक्यौता उठाउन सञ्चालक समितिले कात्तिक २७ गते डीडीसीको व्यवस्थापनलाई ताकेता गरेको थियो । त्यसबेला डीडीसीका महाप्रबन्धकलाई ४५ दिनभित्र एकमुष्ठ रकम असुलउपर गर्न नसके विभागीय कारबाही गर्नु भनिएको थियो । निमित्त महाप्रबन्धक ईश्वरीप्रसाद अधिकारीले नेता कर्मचारीबाट भएको हिनामिना रकम नै उठाउन सकेनन् । त्यसपछि पुनस् पुस २४ गते सञ्चालक समितिका अध्यक्ष रघुनाथ गौतमले १५ दिनको भाका राखेर व्यवस्थापनलाई पत्र लेखे । सञ्चालक समितिले दिएको म्याद सोमबार सकिँदै छ । स्रोतका अनुसार पछिल्लो हदम्यादमा पनि निमित्त महाप्रबन्धकले हिनामिना भएको रकम उठाउन नसकेको खबर कान्तिपुर दैनिकमा छ ।

डीडीसीको आर्थिक नियमावलीले हिनामिना रकम एकमुष्ठ उठाउनुपर्ने भनेको छ । व्यवस्थापनले केही कर्मचारीको मासिक तलबबाट किस्ताबन्दीमा बक्यौता रकम कट्टा गरिरहेको छ । ‘नियमले जे भन्छ त्यसैअनुसार संस्थानको रकम उठाइनुपर्छ । किस्तामा कट्टा गर्ने गरी उठाउन मिल्दैन,’ सञ्चालक समितिका सदस्यले भने, ‘तर, निमित्त महाप्रबन्धक नेता कर्मचारीसँग हिनामिना रकम नियमअनुसार असुल्न सकिरहेका छैनन् ।’ निमित्त महाप्रबन्धक अधिकारीले पहिल्यैदेखि तलबबाट रकम कटौती गर्ने चलन चलेकाले त्यसै गरेको बताए । ‘मभन्दा अघिका महाप्रबन्धक सियाराम सिंहकै पालादेखि यस्तै चलन रहेछ,’ अधिकारीले भने, ‘ताकेता गरेकै छु, तलबबाट पनि काटिरहेको छु ।’

Comments

Top