logo

एकतामा भाँजो हाल्दै एमाले, प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नछोड्ने निर्णय

काठमाडौं । नेकपा एमालेको प्रदेश सभा ६ को संसदीय दलको बैठकले मुख्यमन्त्री माओवादी केन्द्रलाई नछाड्ने निर्णय गरेको छ। नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले निर्णय गर्नुअघि नै प्रदेश सभाको संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो।

६ नम्वर प्रदेश संसदीय दलको सोमबारको बैठकले एकल सरकार बनाउन सक्ने हैसियत आफूहरुसँग रहेकाले प्रदेशको नेतृत्व अरुलाई नदिने निर्णय गरेको हो। ‘४० सदस्यीय प्रदेशसभामा हामी एकल सरकार बनाउन सक्ने हैसियतमा छौं’ बैठकपछि मूख्यमन्त्रीका दावेदार यामलाल कँडेलले भने, ‘यस्तो अवस्थामा अन्य दलको नेतृत्व स्वीकार गर्न सकिँदैन।’ प्रदेशसभामा एमालेबाट २० जना निर्वाचित छन्।

कँडेलले आफ्नो पार्टी कतै नजाँदा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था रहेको उल्लेख गरे। प्रदेश ६ मा एमालेबिना सरकार गठन असम्भव छ। बाम गठबन्धन भएपछि मिलेर जानुपर्नेमा एमाले एक्लै अगाडि बढ्न खोज्दा नयाँ सरकारमा माओवादी केन्द्रलाई अप्ठेरो त पर्छ नै त्यो सँगै पार्टी एकतामा समते बाधा उत्पन्न हुन सक्ने देखिन्छ ।

संविधानमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने व्यवस्था छ। एमालेले अन्य दललाई सहमति नदिदाँ एमालेकै संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन्। प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरिरहेको छ।

माओवादीले प्रदेशमा मुख्यमन्त्री बनाउन भन्दै सरकारमा मन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई उम्मेद्वार बनाएको थियो। शाही मुख्यमन्त्रीको दाबेदार हुन्। यो प्रदेशमा माओवादी केन्द्रका १३ सांसद छन्। ६ सांसद रहेको नेपाली कांग्रेसले भने सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउँदै आएको छ।

Comments

Top