आयल निगमको जग्गा खरिदमा अनियमितता भएको अख्तियारको ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई अनुसन्धा गरी प्रारम्भिक निष्कर्ष निकालेको हो । शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई आयोगमा बोलाएर बयान लिन थालिएको छ ।

आपूर्ति मन्त्रालय र संसदीय समितिले अनियमितता भएको ठहर गरिसकेको जग्गा खरिद प्रकरणमा आयोगले खड्कासँग मंगलबार बयान लिएको हो । निगमबाट हाल मन्त्रालयमा जगेडामा राखिएका कार्यकारी निर्देशक गोपाल खड्कालाई मंगलबार बयान नसकिएपछि बुधबार पनि बोलाइएको छ ।

अख्तियारका प्रवक्ता पदम पाण्डेले अनुसन्धान जारी रहेको बताएका छन् । संसदीय समितिहरुको छानबिनबाट नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा पनि एक अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको थियो। आयल निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको हो।

आयल निगमले चार ठाउँको जग्गा खरिदमा २ अर्ब ३४ करोड रुपैयाँ खर्चेको थियो। खरिदको आधा रकम दुरुपयोग भएको खुलेको थियो। अध्ययनअनुसार कम्तीमा पनि झापामा ४१ करोड, सर्लाहीमा १८ करोड, चितवनमा साढे २८ करोडभन्दा बढी र रुपन्देहीमा साढे ३८ करोड अनियमितता भएको थियो।

Comments

Top