मन्त्रीले गरेको गैरकानुनी काम रोक्न खोज्दा सचिव न्यौपाने हटाइए

mantriandsachib

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले जाँदा जाँदै सचिव महेश्वर न्यौपानेको सरुवा गरेका छन्। बिहीबार राति बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्री देवको प्रस्तावमा सचिव न्यौपानेलाई सार्वजनिक खरिद कार्यालयमा सरुवा गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने मन्त्री देवको प्रस्ताव सचिव न्यौपानेले अस्वीकार गर्दै आएका थिए। मन्त्री देवका विवादास्पद निर्देशनलाई सचिव न्यौपानेले असहयोग गर्दै आएपछि मन्त्रिपरिषद्को निर्णयबाट न्यौपानेको सरुवा गरिएको छ।

‘मलाई बिहीबार दिउँसो गौतमलाई हटाएर मन्त्रालयकै सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख सुरेश आचार्यलाई प्राधिकरणमा महानिर्देशक बनाउने प्रस्ताव बनाउन मन्त्रीको चर्को दबाब थियो’, सचिव न्यौपानेले अन्नपूर्णसित भने, ‘मन्त्रीको आदेशअनुसार प्रस्ताव तयार नगर्दा म सरुवामा परेँ।’

न्यौपाने मन्त्रीको दबाब थेक्न नसक्दा केही दिनदेखि बिदामा थिए। एक्कासि दिउँसो आफूलाई मन्त्रीले फोन गरेर गौतम हटाएर आचार्यलाई महानिर्देशक बनाउने प्रस्ताव बनाउन भनिएको उनको भनाइ छ।

उक्त निर्देशन न्यौपानेले नमानेपछि मन्त्रालयका निमित्ति सचिव सुरेश आचार्यले नै गौतम हटाउने प्रस्ताव तयार पारेका थिए। गौतम हटाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयको मुख्य सचिवालयले मन्त्रिपरिषद्को वैठकमा पेस गर्न अस्वीकार गरेको थियो। त्यसलगत्तै मन्त्री देवको ठाडो प्रस्तावमा सचिव न्यौपानेको सरुवा भएको हो। सचिव न्यौपानेको ठाउँमा सार्वजनिक खरिद कार्यालयका सचिव कृष्ण देवकोटालाई मन्त्रालयमा ल्याइएको छ।

यसरी सुरु भयो विवाद

मन्त्री देवले गत भदौ २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई हटाउने योजनासहित ११ बुँदे स्पस्टीकरण सोधेका थिए। मन्त्री देवले गौतमबाट आएको स्पष्टीकरण चित्तबुझदो नरहेको भन्दै फेरि असोज पहिलो साता गौतमसँग २४ घण्टे स्पष्टीकरण माग गरेका थिए। गौतमको जवाफ पुनः चित्तबुझ्दो नरहेको भन्दै मन्त्री देवले मन्त्रालयमा तीन सदस्यीय एक कार्यदल गठन गर्दै संयोजक बनाएर गौतमलाई हाजिर हुन पत्र पत्र काटेका थिए। तर, मन्त्रीको निर्णयलाई निर्वाचन आयोगले बदर गरेको थियो।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनलगत्तै फेरि गौतमलाई हटाउने खेल सुरु भएको थियो। तर, सचिव न्यौपानेको असहयोगले मन्त्री सफल हुन सकेन। यसैगरी मन्त्री देवले पशुपति विकास क्षेत्रको जग्गामा रहेको बालुवा बिक्री प्रक्रिया अगाडि बढाएका थिए। बालुवा बिक्रीमा पनि सचिव न्यौपानेले कानुनविपरित रहेको भन्दै मन्त्रीलाई सहयोग गरेनन्। मन्त्री देवले न्यौपानेलाई नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाको फाइल मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव बनाउन दबाब दिएका थिए। निगममा साझेदार बन्न तयार रहेको जर्मनको लुफ्थान्सा कन्सल्टिङ कम्पनी स्वीकृत गराउने प्रस्तावको फाइल बनाउन न्यौपानेलाई मन्त्री देवले प्रेसर दिएका थिए।

उक्त कम्पनीलाई रणनीतिक साझेदार बनाउन योग्य रहेको बन्दै अर्थले एक साता अगाडि मात्रै स्वीकृति दिएको थियो। उक्त निर्णय पनि कानुनअनुसार नरहेको भन्दै न्यौपानले रोकेका थिए।

यसका साथै मन्त्री देवले विमानस्थल स्तरोन्नतिमा लापरबाही गरेपछि ठेक्का रद्द गरिएको स्पेनिस निर्माण कम्पनी सान्जोसेको विषयमा हात हालेका थिए। मन्त्री देवले सान्जोसेले सिंगापुरमा दर्ता गराएको मुद्दामा नेपाललाई हराउँदै सात अर्ब हत्याउने योजनाअनुसार ‘सेटिङ’ मिलाएर आर्चायलाई महानिर्देशक बनाउन लागिपरेका थिए। मन्त्रीको सबै काम गैरकानुनी रहेको ठहर गर्दै सचिवले असहयोग गरेपछि उनलाई सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ। नेपालले मुद्दा हारेको अवस्थामा सान्जोसेलाई सात अर्ब क्षतिपूर्ति व्यहोर्न पर्नेहुन्छ। अन्नपूर्णमा खबर छ 

Comments

Top