logo

आङछिरिङको डिजाइनमा सचिव न्यौपाने हटाइए, नागरिक उड्डयनमा अर्बौ घोटला

mantriandsachib

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको नयाँ तथ्य फेला परेको छ। उक्त मन्त्रालयमा हाजिर गराइएको साढे ५ महिना बित्न नपाउँदै सचिव न्यौपाने हालै सार्वजनिक खरिद अनुगमन कार्यलयममा सरुवा गरिएका हुन्।

 उहाँलाई गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा गरी सोही कार्यालयका सचिव कृष्ण देवकोटालाई उक्त मन्त्रालय लगिएको थियो। गत साउनमा सह–सचिवबाट सचिव भएका न्यौपाने यसअघि निर्वाचन आयोगमा कार्यरत हुनुहुन्थ्यो। स्रोतका अनुसार सचिव न्यौपानेको सरुवा गर्न प्रधानमन्त्री पत्नी आरजु देउवा, उप–प्रधानमन्त्री विजयकुमार गच्छदार र विभागीय मन्त्री जितेन्द्रनारायण देवको तीव्र दबाब थियो। ‘आफु अनुकूल निर्णय र आर्थिक चलखेल गर्न नमानेपछि सचिव न्यौपानेलाई सरुवा गरिएको हो’, मन्त्रालय स्रोतले भन्यो– ‘मन्त्रीले कानुन मिचेर ल्याएका प्रस्तावहरूमा उहाँले साथ नदिएपछि सारियो।’ स्रोतका अनुसार सचिव न्यौपानेको सरुवाको प्रमुख कारण स्पेनिस निर्माण कम्पनी सान्जोसेसम्बन्धी विषय हो।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा सन्तोषजनक काम नगरेपछि टेन्डर रद्द गरिएको स्पेनिस सान्जोसेको मुद्दा अहिले सिंगापुरको अदालतमा विचाराधीन छ। नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलको स्तरोन्नति गर्न सान्जोसेलाई छनोट गरेको थियो। स्पेनको अदालतले भने नेपालकै पक्षमा फैसला गरेको थियो। कम्पनीले धरौटीबापत २ अर्ब रुपियाँ बुझाइसकेको छ। स्तरोन्नतिमा ढिलासुस्ती भएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराई उक्त कम्पनीसँगको टेन्डर रद्द गरिएको थियो।

 सान्जोसेले मुद्दा जितेमा नेपालले ७ अर्ब क्षतिपूर्ति तिर्नुपर्नेछ। ‘मन्त्री देव र उपप्रधानमन्त्री गच्छदार सान्जोसेले सिंगापुरमा दर्ता गराएको मुद्दामा नेपाललाई नै हराउँदै ७ अर्ब हिनामिना गर्न चाहन्छन्’, मन्त्रालय स्रोतको दाबी छ– ‘यसका लागि दुवै जना सरुवाको नाटक गरिएको हो।’वकिल राखी बहसमा भाग नलिए नेपालले मुद्दा हार्न सक्ने बताउँदै स्रोतले भन्यो– ‘अहिलेसम्म त नेपालले नै मुद्दा जित्ने देखिन्छ तर मुद्दाको बहसमा नै सहभागी नभएर नेपाललाई हराई क्षतिपूर्ति तिराउने र धरौटीबापतको २ अर्ब बाँडफाँड गर्ने चलखेल भइरहेको छ।’
यसैका लागि मन्त्रालयका सह–सचिव सुरेश आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन लागिपरेको बताइन्छ। स्रोतले मन्त्री देवले यती एयरलाइन्सका मेनेजिङ डाइरेक्टर आङछिरिङ शेर्पाको नाममा धरानमा रहेको ४० बिघा जग्गा विमानस्थल निर्माणका लागि प्राधिरणलाई महँगोमा किन्न लगाउने योजना बनाएको समेत बतायो। स्रोत भन्छ– ‘आङछिरिङले उप–प्रधानमन्त्री विजयकुमार गच्छेदारकी श्रीमतीसँग भाइटीका लगाउँदै आएका छन् र गच्छदारका छोरा सुवासलाई भान्जा भन्छन्।’नेपाल समाचारपत्रबाट 

 

Comments

Top