वीर सपुतहरुको सम्झनामा आज शहीद दिवस मनाईंदै

काठमाडौं । विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरी आज (मंगलबार) शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

आजको दिन नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए।

शहीद दिवसका अवसरमा मंगलबार बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरियो । यसैगरी अपराह्न ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गर्न लागिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेको हो ।

स्मारक निर्माण भएपछि शहीदढोकाका चार शहीदको शालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भइसकेको छ ।  गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद संग्रहालय, शहीदसम्बन्धी अध्ययनअनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

Comments

Top