अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी बुधबार हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित हुन कांग्रेसको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई निर्देशन दिएको छ। २४ माघमा राष्ट्रियसभा सदस्यको लागि ६ वटा प्रदेशमा निर्वाचन हुँदैछ। प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित गर्नु पर्ने संवैधानिक प्रावधान भए पनि प्रदेश २ मा भने ८ जना सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको छन्।

५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेपछि बुधबार ३२ पदमा मात्र निर्वाचन हुँदैछ। ‘राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ भए पनि आगामी माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु होला’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शनिबार जारी विज्ञप्तीमा भनिएको छ।

कांग्रेसले पार्टी र राष्ट्रिय सभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहिरहनर २४ माघमा आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिसकेको छ।

जसअनुसार प्रदेश १ को बिराटनगर, प्रदेश ३ को पाटन, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को बीरेन्द्रनगर र प्रदेश ७ को कैलालीमा मतदान केन्द्र तोकिएको छ। प्रदेश एकबाट ६ जना, प्रदेश ४ वाट १ जना, प्रदेश ५ बाट ३ जना र प्रदेश ७ बाट ६ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

Comments

Top