गौचन हत्याका नाइके बस्नेतलाई किन सारियो नख्खु कारागार ?


samirdon

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई प्रहरी र जेलरको मिलेमतोमा नख्खु कारागारमा सारिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बस्नेतसहित ९ जनालाई माघ ९ गते पूर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारा पठाएको थियो ।

 तर, सुन्धारा पठाएको एक साता पछि बस्नेतलाई ललितपुरस्थित नख्खु कारागार सारिएको हो ।  नियमतः गम्भिर प्रकृतिको अपराध र मुद्दा टुंगिनसकेको अवस्थामा कारागारमा रहेका कैदीलाई अर्को कारागारमा सार्न मिल्दैन ।

 कारागारमा कुनै घटना घटाएको खण्डमा कारागार भित्रकै गोलघरमा राखेर कैदीलाई थप सजाय दिने चलन भएपनि बस्नेतको हकमा भने विना कारण एक सातामै तुलनात्मक रुपमा सुविधाजनक रहेको नख्खु कारागार सारिएको छ । यदि कैदीले गल्ती गरेको र कुनै घटना घट्न सक्ने अवस्था देखिएमा त्यस्ता कैदीलाई अन्यत्र जिल्लामा पठाउने गरिन्छ ।

 तर, काठमाडौं जिल्ला अदालतबाट फैसला भई केन्द्रिय कारागार चलान भएका कैदीलाई एकाएक कारागार व्यवस्था विभाग, प्रहरी र जेलरको मिलेमतोमा ललितपुर जिल्लाको नख्खु कारागारमा सारिएपछि गौचन हत्या प्रकरणका अभियुक्तलाई विस्तारै चोख्याउने षड्यन्त्र त रचिएको होइन ? भन्ने प्रश्न उब्जिएको छ ।

 स्रोतका अनुसार बस्नेतकी श्रीमती र एक डिएसपीको सेटिङमा जेलरलाई मिलाएर बस्नेतलाई केन्द्रिय कारागार भन्दा सुविधाजनक मानिने नख्खु कारागारमा सारिएको हो । पक्राउ परेदेखि नै बस्नेतले श्रीमतीमार्फत ति आफन्त डिएसपीसँग सेटिङ मिलाएपछि बस्नेतलाई जेलभित्र भेट्न जानेहरुलाई सहज भएको छ । गौचन हत्या प्रकरणमा हतियार मिलाउने देखि आर्थिक व्यवस्थापन गर्ने बस्नेतका नातेदार रोशन बुढाथोकी, सुटर अमरबहादुर राणा र लोप्साङ राई अझै फरार छन् । बुढाथोकी, राणा र राईसँग ति डिएसपी र बस्नेतकी श्रीमतीको कनेक्सन रहेको हुँदा उनीहरु पक्राउ पर्न सकिरहेका छैनन् ।

 प्रहरी स्रोत भन्छ–‘डिएसपीको संरक्षणमा रहेका बुढाथोकी, राणा र राईले कुनै पनि बेला अर्को घटना घटाउने त्रास कायमै छ । उनीहरुले प्रहरीमाथि पनि आक्रमणको योजना बनाएको हुनसक्छ ।’ त्यसो त गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि घैंटेका मित बस्नेतले प्रहरीमाथि नै आक्रमणको योजना बनाएका थिए ।

 त्यतिखेर प्रहरीले केहीलाई पक्राउ गरी मुद्दा समेत चलाएको थियो । बस्नेतलाई सिआईवीले पक्राउ गर्दा सेटिङमा चितवनबाट काठमाडौं ल्याएको थियो । स्रोतका अनुसार भैरहवाबाट श्रीमती र उनै डिएसपीको सेटिङमा स्वीफ्ट गाडीमार्फत चितवन ल्याइएका बस्नेतलाई रहस्मय ढंगले सिआईबीले सार्वजनिक गरेको थियो ।

 त्यस लगत्तै बस्नेतलाई ज्वाँइझैं सिआईवीमा राखेर श्रीमती देखि अन्य आफन्तलाई सहज रुपमा भेट्न दिइएको र छानविन समितिलाई हस्तान्तरण नगरेको भन्दै आलोचना भएपछि सिआईवीले महानगरिय प्रहरी परिसर काठमाडौं पठाएको थियो । जबकी गौचन हत्या काण्डको छानविनका लागि गठिन समितिले घटनामा संलग्न अन्य अभियुक्तहरुको बयान लिई मुद्दा चलाएको थियो । यसरी पक्राउ परेदेखि नै सेटिङै सेटिङमा चलेका बस्नेतलाई नख्खु कारागारमा पु-याई चलखेल गर्ने मौका दिइएको छ । जसका कारण पीडित परिवार अन्य ठेकेदारहरु पनि मारमा पर्ने अवस्था देखिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

Comments

Top