logo

बस्नेतका छोराको सेटिङमा अर्यालको मुद्दा तामेलीमा,गल्फ्रेण्डमार्फत सुराकीको पैसा खाने प्रहरीलाई पनि सफाई

dip, upendra and dipak

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाश पाउन लागेका प्रमुख आयुक्त दीप बस्नेतले भ्रष्टाचार गर्नेहरुलाई धमाधम सेटिङमा सफाइ दिन थालेका छन् । ६५ बर्षको उमेर हदका कारण २९ गते अख्तियारबाट अवकाश हुन लागेका प्रमुख आयुक्त बस्नेतले आफ्नै छोरा कमल र दिपक तिमिल्सिना नामका दलालको सेटिङमार्फत नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलिमा राखेको स्रोतले बतायो ।

 पूर्व आइजीपी अर्यालमाथि अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाउन अन्तिम तयारी गरेको थियो । तर, अर्यालले गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोका बीचौलियाका रुपमा चिनिएका दीपक तिमिल्सिना र प्रमुख आयुक्त बस्नेतका छोरा कमल बस्नेतलाई भेटेर डिल गरेपछि उनको मुद्दा माघ दोस्रो हप्ता तामेलीमा राखिएको हो । स्रोतका अनुसार नक्सालको एटिक रेष्टुरेन्टमा उक्त डिल भएको थियो । मुद्दा तामेलीमा राखेपछि अर्याल बुधबार दिउसो १२ बजे अख्तियार पुगेर पत्र लिई बाहिरिएका थिए ।

 अर्यालले भक्तपुरदेखि सिन्धुलीको दुधौलीमा सयौं रोपनी जग्गा खरिद गरेको लगायतका धेरै उजुरीमा अख्तियारले छानबिन गरेको थियो । अनुसन्धानमा अर्यालले आयभन्दा धेरै बढी सम्पत्ति आर्जन गरेको फेलापरे पनि उनको उजुरी तामेलीमा राखिएको छ ।

 उनले सिराहाको आँप बिक्री गरी सम्पत्ति आर्जन गरेको १३ पन्ने विवरणमा उल्लेख गरेपछि नेपाल प्रहरीमा उनलाई आँप ब्यापारीका रुपमा ब्यंग्य गर्न थालिएको थियो । अर्याललाई सफाई दिलाउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पनि लागि परेका थिए ।

 स्रोतका अनुसार सिरोहियाकै दबाबमा प्रमुख आयुक्त बस्नेतले सम्पत्ति सुद्दिकरण विभागलाई व्यापारी अजेयराज सुमार्गीमाथि कारबाही गर्न निर्देशन दिएका थिए । सुमार्गी र सिरोहियाबीच लामो समयदेखि जग्गाको विवाद चल्दै आएको छ । शुरुमा लोकमानसिंह कार्कीसँग मिलेर अर्यालले कार्कीका सम्धी रोहिणी थपलियालाई प्रहरीको करोडौंको ठेक्का दिएको भन्दै प्रमुख आयुक्त बस्नेतले अनुसन्धान गर्न टिम नै खटाएका थिए । तर, दलाल तिमिल्सिना र छोरा मार्फत डिल मिलेपछि अर्यालमाथिको कारबाही रोकिएको हो ।

 अर्यालसँगै एआईजी विजयलाल कायस्थमाथिको कारबाही पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख छँदा बरामद भएको सुनबाट सुराकीबापतको कमिसन लिन गल्फ्रेण्डलाई सुराकी बनाएको र अकुत सम्पत्ति आर्जन गरेको भन्दै कायस्थमाथि छानविन भएको थियो ।

 कायस्थले विगतमा सुन तस्करीमा मुछिएका दिपक मल्होत्रासँग मिलेर करोडौं अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा मुद्दा परेको थियो । तर, त्यसको पनि छानविन नै नभई फाइल नै मुलतवीमा राखिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Comments

Top