ओलीलाई ठेगान लगाउन भन्दै नेपाल गुटको आकस्मिक भेला

makune

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली समूहको पेलानमा परेको माधवकुमार नेपाल समूहले आकस्मिक रुपमा गुटको भेला बोलाएर असन्तुष्टि पोखेको छ ।

 काठमाडौंमा मंगलबार राति आकस्मिक रुपमा बसेको नेपाल समूहको गुटको भेलामा वरिष्ठ नेता नेपालका साथै झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम आचार्यसहितका नेताहरुको सहभागिता रहेको स्रोतको दावी छ ।

स्रोतका अनुसार ओली समूहले मुख्यमन्त्रीमा आफ्नो समूहका नेताहरुलाई अगाडि सारेको भन्दै नेपाल समूहले विरोध जनाएको थियो । भेलामा एमालेले १, ३, ४ र ५ नं. प्रदेशमा मुख्यमन्त्री पाएको छ । ती प्रदेशहरुमा ओली गुटका नेताहरु मात्रै मुख्यमन्त्री बन्दै छन् । नेपाल समूहलाई पेलेर ल्याएका ओलीले मुख्यमन्त्रीको छेउछाउ पर्न पनि दिएनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेतले आफ्नो मर्यादा विपरित अष्टलक्ष्मी शाक्यलाई हराउन प्रदेश सांसदहरुलाई फोन गरेको विषयमा पनि नेपाल समूहको गुटका भेलामा छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले शाक्यलाई हराउन खेलेको भूमिकाका विषयमा पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकमा समेत कुरा उठेको थियो ।

 तर, ओलीले सो विषयमा कुनै पनि जवाफ दिएनन् । सुनेर बसेका थिए । आफ्नो गुटलाई बलियो बनाएका ओलीले नेपाल समूहलाई भने राम्रैसँग किनारामा पु¥याएको भनेर ओली समूहले खुसीयाली मनाएको बारेमा पनि छलफल भएको छ ।
गुटको भेलामा नेपाल समूहले ओलीलाई कसरी साइजमा ल्याउन सकिन्छ भनेर गम्भीर परामर्श गरेको थियो । भेलामा नेपाल समूहले आगामी दिनमा ओली समूहका कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने गरेर जानुपर्ने निष्कर्ष निकालेको स्रोतको भनाइ छ । टिकट वितरणका बेला पनि ओली समूहको पेलानमा परेको नेपाल समूहको गुनासो थियो ।
भेलामा वरिष्ठ नेता खनाल र उपाध्यक्ष गौतमले ओलीबाट आफूहरुले ठूलो धोका पाएको भनेर असन्तुष्टि जनाएका थिए ।

 उपाध्यक्ष गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘केपी ओलीलाई मैले केके सहयोग गरिन ? अहिले आएर ओलीले मलाई बर्दियाबाट हराए । मेरोविरुद्ध सूर्य थापा जस्ता धुपौरेहरुलाई प्रयोग गरेका छन् । ओलीले गुन भुले ।’ गौतमले माओवादी केन्द्रसँग वाम गठबन्धन र पार्टी एकताको कुरा गराइदिएको जस पनि ओली र उनको गुटले आफूलाई दिन आनाकानी गरेको भन्दै गौतमले असन्तुष्टि जनाएका थिए । त्यति मात्रै होइन गौतमले पार्टी एकीकरणको वार्ताहरुमा ओलीले बेवास्ता गरेको भनेर दुखेसो पोखेको स्रोतको भनाई छ ।

 

Comments

Top