सबैं बैंकहरु वाणिज्य बैंक नै बन्नु पर्छ भन्ने छैन

पछिल्लो समय मर्जर र एक्युजेसनले विकास बैंकको अस्तित्व धारपमा छ । राष्ट्र बैंकको पूँजी वृद्धिको निर्देशनसँगै विकास बैंकहरु अब वाणिज्य बैंकमा विलय हुँदै छन् कि विकास बैंकको पहिचानलाई अझै मजबुत बनाउन तिर लागेका छन् ? साथै महालक्ष्मी विकास बैंकको वित्तिय अवस्था र दोस्रो त्रैमासको रिपोर्ट सार्वजनक भइसकेपछि यसले सेयर बजारमा कस्तो किसिमको प्रभाव पारेको छ भन्ने विषयमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी निर्देशक तथा डेभलप्मेन्ट बैंकर्स एसोसिएसन नेपालका पूर्व अध्यक्ष कृष्णराज लामिछानेसँग गरिएको कुराकानी :

० अबका दिनमा विकास बैंक आफै सबल र मजबुत हुनु पर्छ कि वाणिज्य बैंकमा विलय हुँदै ठिक हुृन्छ ?
– म विकास बैंक एसोसियसनमा पहिलो पटक अध्यक्ष हुँदा झन्डै ८५/८६ ओटा विकास बैंक थिए । अहिले झण्डै ३५ ओटामा झरेको छ । तर, विकास बैंकको संख्या कम भयो भन्दैमा यसले दिने सेवामा कमी आएको छैन । केही विकास बैंकहरु ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग मर्ज भए होला र कतिपय विकास बैंक पनि आपसमा मर्ज भएका छन् । जति पनि विकास बैंक मर्ज भएका छन् सबै मजबुत बनेका छन् । केहि विकास बैंकले बाहेक सबै विकास बैंकले चुत्ता पूँजी पु-याइसकेका छन् । यस अर्थमा संख्या धेरै हुन मात्र पनि ठूलो कुरा होइन गुणस्तरीय सेवा दिन सक्नु र आफूलाई सवल र सक्षम भएर बजारमा प्रस्तुत गर्न सक्नु महत्वपूर्ण कुरा हो ।

० तपाईको धारणामा विकास बैंक रहनु पर्छ वा वाणिज्य बैंक बन्ने प्रकृयामा जानु पर्छ ?
– मेरो भनाइमा सबैले ठूलो–ठूलो व्यवसाय नै गर्नु पर्छ भन्ने छैन । सुशासन भित्र रहेर इमान्दारी पूर्वक काम गर्नु पर्छ । सबैं बैंकहरु वाणिज्य बैंक नै बन्नु पर्छ भन्ने छैन । यसमा पनि दुई वर्ष पहिले ‘क’ वर्गका वाणिज्य बैंकहरुको जति पूँजी थियो अहिले राष्ट्रिय स्तरका विकास बैंकहरुको पूँजी त्यति नै पुगिसक्यो र यो पूँजीले जति व्यवसाय गर्न पाउनु पर्छ त्यो गर्नु पर्छ । त्यसैले वाणिज्य बैंक नै हुनु पर्छ । विकास बैंक हुनु हुँदैन भन्ने मान्यता म राख्दिन । विकास बैंकले जिल्ला जिल्लामा सेवा पु¥याउन सक्षम छ । यस हिसाबले स्थानिय स्तरमा सेवा पु¥याउँदै आएका विकास बैंकहरु विलय हुनु पर्छ भन्ने छैन ।

० नेपाल जस्तो कृषि प्रधान तथा विकासोन्मुख राष्ट्रमा विकास बैंकको भूमिका अझै बढी छ । तर निरन्तर यसको संख्या घट्दै जानुले दुरगामी असर पनि पर्ला नि ?
– विकास बैंकको संख्या घटे पनि यसले दिने सुविधा घटेको छैन । महालक्ष्मी बिकास बैंककै कुरा गर्ने हो भने पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म १४ ओटा अञ्चलमा हाम्रो उपस्थिति छ । यस हिसाबले संख्या घटेको होला । त,र कारोबार र सेवा घटेको छैन ।

० वाणिज्य बैंकहरु सहरमा र लघुवित्त जति गाउँमा हुँदा विकास बैक भने सधैं मिडियटरको भूमिकामा मात्र छ किन ?
– विकास बैंकमात्र होइन सबै बैंक तथा वित्तिय संस्थाहरु मिडियटर नै हुन् । निक्षेपकर्ताको निक्षेप संकलन गर्ने र जसलाई कर्जा चाहिन्छ कर्जा उपलब्ध गराउने हो । क, ख, ग, घ जति पनि बैंक छन् सबैको काम मध्यस्तकर्ता कै हो । गाउँ गाउँमा लघुवित्तले काम गरि रहेको छ । सहरमा वाणज्य बैंकहरुमात्र होइन विकास बैंकहरु पनि प्रशस्त छन् । अहिले बिकास बैंकको प्रतिस्पर्धा वाणिज्य बैंकसँग छ । वाणिज्य बैंकले भन्दा विकास बैंकले सस्तोमा कर्जा प्रवाह गरि रहेको छ । हिजोका दिनमा विकास बैंकले भन्दा वाणिज्य बैंकहरुले निक्षेपमा व्याज बढी दिन्छन् र कर्जामा विकास बैंकले बढी व्याज लिन्छन् भन्ने मान्यता अहिले हराइ सक्यो ।

० वाणिज्य बैंक र विकास बैंकले दिने निक्षेपमा व्याजदर एउटै छ यसो हुँदा कस्तो असर पर्नसक्छ ?
– असर भन्दा पनि अब वाणिज्य बैंक र विकास बैंकको बीचमा पनि पूर्ण प्रतिस्पर्धाको अवस्था छ । कुनै पनि ग्राहकले कर्जा लिन जाँदा वाणिज्य बैंकमा भन्दा विकास बैंकमा महंगो पर्छ भन्ने पनि रहेन र विकास बैंकमा जाने वित्तिकै निक्षेपमा बढी व्याज पाइन्छ वाणिज्य बैंकमा पाइँदैन भन्ने अवस्था पनि रहेन । अहिले ‘क’ वर्गका बैंकमा तरलताको समस्या आए पनि विकास बैंकहरुमा आएको छैन ।

० त्यसो भए नेपालमा बैंकहरुको वर्गीकरण गर्न आवश्यक छैन भन्ने तपाइको भनाइ हो ?
– यो विषयमा फाइन्यान्सियल सेक्टरमा छलफल पनि भएको हो । युनिभर्सल कन्सेप्टमा जानु पर्छ भन्ने पनि कुरा भएको हो । तर, म के कुरा मान्छु भने अब वर्गीकरण पनि जरुरी छैन । जसको ठूलो पूँजी छ उसले ठूलो लगानी गर्छ र जसको सानो पूँजी छ उसले सानो लगानी गर्छ । अब ‘क’ र ‘ख’ वर्ग दुवै बैंकले एउटै काम गरि रहेका छन् भने यो ‘क’ र ‘ख’ किन भन्नु प-यो, दुवैले जनताकै निक्षेप लिने हो त्यसैले छुट्याउन जरुरी छैन ।

० विकास बैंकको नेपालको अर्थतन्त्रमा भूमिका कस्तो रहने छ ?
– नेपालको अर्थतन्त्रमा बैंक तथा वित्तिय क्षेत्रको जे भूमिका रहन्छ विकास बैंकको भूमिका पनि त्यहि हो । जस्तै ग्रामीण क्षेत्रमा गएर यहाँको निक्षेप संकलन गर्ने, गाउँमा साना साना कर्जा प्रवाह गर्ने, त्यसका अलावा सहरी क्षेत्रमा पनि विभिन्न व्यवसायमालगानी गरिदिने । साथै हाइड्रो पावरमा पनि क्षमता अनुसारको लगानी गर्ने । उत्पादन मुलक क्षेत्रमा पनि केन्द्रिय बैंकले तोके अनुसार लगानी गरिदिने ।

० बैंक तथा वित्तिय क्षेत्रले अझै पनि सोलो प्रोजेक्टमा लगानी गर्न डराउँछ, र धितोमा कर्जा प्रवहमा मात्र ध्यान दिएको छ ? जिडिपिमा उद्योगको योगदानमा खासै वृद्धि हुन सकेको छैन । घटेको छ किन ? लगानी कहाँ जान्छ ?
– नेपालको अर्थतन्त्रमा बैंक तथा वित्तिय संस्थाको योगदान रहँदै आएको छ । जति सरकारले वार्षिक बजेट बनाउँछ त्यो बजेटको खर्च गर्ने माध्यम नै बैंकहरु हुन् । हिजोका दिनमा जति पनि बैंक तथा वित्तियसंस्थाहरु खुले त्यसलाई एक ठाउँमा ल्याउने काम भइरहेको छ । ‘क’ वर्गका बैंकहरु कम घटे र विकास बैंक र फाइनान्सको संख्या भने बढी घट्न गएको हो बैंक तथा वित्तिय संस्थाको योगदान नभएको भए मुलुकले छोटो समयमा नै यति धेरै आर्थिक कारोबार गर्न सक्षम पनि हुने थिएन ।
ठूला प्रोजेक्टहरुमा पनि हात नहालेको हैन । ऋण लिएपछि तिर्नु पर्छ । किनकि त्यो सर्वसाधारणको पैसा हो । सर्वसाधारणको निक्षेप पनि जथाभाबि गर्न पाइँदैन । यस हिसाबले सानो सानो घरकर्जा धितो दिने काम भने बैंकले गरेको छ । ठूलो ठूलो आयोजना निमार्णमा भने प्रोजेक्ट नै धितोमा लिएर पनि बैंकले लगानी गरेको छ ।

० महालक्ष्मी विकास बैंकले चाहिँ कस्तो कस्तो प्रोजेक्टमा हात हालेको छ ?
– महालक्ष्मी विकास बैंक पूँजीको आधारमा सबैभन्दा ठूलो विकास बैंक हो । यस विकास बैंकको ७१ ओटा शाखा छ, २५ अर्ब निक्षेप छ । कर्जा लगानीमा पनि २१ अर्बको लगानी रहेका यो बिकास बैंक मुलुकको अग्रणी बैंकको रुपमा रहेको छ । बैंक भनेको यस्तो संस्था हो जसले जोखिम सकेसम्म कम गर्नु पर्छ । यसका लागि सबै सेक्टरमा लगानी गर्नु पर्छ । महालक्ष्मी विकास बैंकले होटल, ठूला हाइड्रो पावर, साना कृषि कर्जामा, साथै लघुवित्त अन्तरगतका साना–साना समूहमा पनि लगानी गरेका छौं । एउटै सेक्टरमा लगानी गर्दा जोखिम हुँने हुँदा सबै सेक्टरमा लगानी गरिएको छ ।

० नेपालको अर्थतन्त्र आयातमा निर्भर छ, यसलाई कम गर्ने र आत्मनिर्भर बनाउने क्षेत्रमा बैंकहरुले कत्तिको लगानी गरेका छन् ?
– नेपालको अर्थतन्त्र बढी आयात मुखि भएको छ । यहिँ पनि केही उत्पादन हुन सकेको छैन यो मुलुकको अर्थतन्त्रलाई त्यति राम्रो विषय भने होइन । अहिले हामीले खाने तरकारी समेत स्थानिय स्तरमा उत्पादन भएको छैन । गाउँ घरमा पनि आयातित सिमेन्ट, डण्डिबाट घर बन्न थालिसक्यो । विदेशबाट आउने रेमिट्यान्स पनि घट्दै छ । स्थानीय स्तरमा कृषि उपजलाई बढावा दिन सरकारले पनि ध्यान दिनु पर्छ । स्थानिय स्तरमा व्यवसाय गर्न चाहनेलाई पनि बैंकहरुले कर्जा दिन तयार छ ।

० संघीयता लागू भएसँगै स्थानिय स्तरमा सरकार पनि बन्दै छ, अब गाउँ गाउँमा वाणिज्य बैंकहरु मात्र पुग्छन् या विकास बैंकहरु पनि पुग्छन् ?
– दुवै किसिमका बैंकहरु पुग्ने छन् । केन्द्रिय बैंकले गाउँ गाउँमा शाखा खोल्न निर्देशन दिएको छ । हामी जान पनि तयार छौं । तर, यसमा हामीलाई गुनासो छ किनकी गाउँमा जाउँ भनि रहँदा स्थानिय स्तरको पैसा परिचालन गर्न भने दिइएको छैन । नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । तर, महालेखा नियन्त्रण कार्यलयबाट रोकिएको अवस्था छ । स्थानिय निकायमा जुन पैसा छ, त्यो पनि स्थानिय रुपमा खाता खोलेर राख्ने अवस्था त हुनु प-यो नि । गाउँ–गाउँमा जाउ भन्ने तर, कारोबार भने गर्न नदिने अवस्था छ । यो अवस्थाको निक्र्योल हुनु पर्छ ।

० दोश्रो त्रैमासको विवरण ४२ दशमलव ५७ प्रतिशतले नाफा बढेको देखिएछ, तर वास्तवमा राईट व्यकले मात्र मुनाफा बढेको देखिन्छ कारण के होला ?
– यसमा केहि राइट ब्याक पनि छन् र हाम्रो संचालन नाफा पनि पहिले भन्दा केही बढेकै छ । संस्थाहरु मर्ज भएका कारणले यसलाई मिलाएर लान केहि समय भने लागेको हो । तर, यो असार सम्म हाम्रो सबै इन्डिकेटरहरु र नाफाको दृष्टिकोणले पनि महालक्ष्मी विकास बैंक सबैभन्दा उत्कृष्ट नै हुने छ । म के चाहन्छु भन्दा हरेक सूचकमा नम्वर वान हुने भन्दा पनि बेष्ट हुनु पर्छ भन्ने ठान्छु । नाफा बढ्नुमा राइट व्याक भएर पनि हो । तर, यसपालिको रिपोर्टमा प्रोभिजन पनि बढेको छ ।

० महालक्ष्मी विकास बैंकले आफ्नो कार्यक्षेत्र बढाउन के–कस्ता योजनाहरु बनाइरहेको छ ?
– महालक्ष्मी बैंकले देशैभर जहाँ–जहाँ शाखा पु¥याउन सकेको छैन, त्यहाँ अर्को वर्षसम्म १५–२० शाखा खोल्ने तयारीमा छ । यस बाहेक हामीले अन्य प्रडक्टहरु पनि सञ्चालनमा ल्याएका छौं । साथै हामीले प्रविधीलाई भित्र्याउने कोसिस गरि रहेका छौं । देशको जुनसुकै क्षेत्रमा भए पनि महालक्ष्मी विकास बैंकको पहुँचमा नेपाली जनता हुन् भन्ने हाम्रो चाहना छ ।

Comments

Top