संसदीय दलको विधानमा परिमार्जन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने जनाइएको छ । पार्टी कार्यालय सानेपा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिले शनिबार तयार पारेको मस्यौदा अनुमोदन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

संसदीय दलको विधानमा परिमार्जन गरेर एक तिहाइ महिला अनिवार्य गर्नेलगयातका विषय समावेश गरिएको छ। शर्माका अनुसार आजको बैठकले संसदीय दलको नेता छान्ने प्रक्रियाका लागि एउटा समिति पनि बनाउने छ। चुनावमा पार्टी पराजयका विषयमा भने आज छलफल हुने सम्भावना नरहेको शर्माले बताए।

कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो।

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार कांग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ। यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ। आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने बताइएको छ ।

Comments

Top