मड्रिडमाथि बार्सिलोनाको महत्वपूर्ण जित

काठमाडौं । ला लिगामा अपराजित यात्रा गर्दै आएको बार्सिलोनाले उपाधिको दाबेदार एथ्लेटिको मड्रिडलाई हराउँदै आफ्नो बाटो खुल्ला गरेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेसीले निर्णायक गोल गरे। पहिलो हाफको २५ औं मिनेटमा मेसीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन्। मेस्सीले ७४७ औं खेलमा ६ सय गोल पुरा भएको हो। यस्तै लिगमा उनले यो सिजन २४ गोल गरिसकेका छन् ।

क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेन। बार्सिलोनाविरुद्ध एथ्लेटिको पाएका केहि राम्रा गोलका अवसरलाई सदुपयोग गर्न सकेन।

यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंकमै खुम्चिएको छ। लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक छ।

Comments

Top