बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसियाको आपत्ति

काठमाडौं । नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकले आपत्ति जनाएको छ । एशोसियशनले ब्याजदर नघटाएका कारण एनआईसी एसियासँग अन्तरबैंक कारोबार बन्द गर्ने निर्णय गरेलगत्तै बैंकले आपत्ति प्रकट गरेको हो । एनआईसीका अधिकारीहरु ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको बताउँछन् । ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स एशोसिएशनले गलत निर्णय गरेको उनीहरुको भनाइ छ ।
बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध २७ बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय गरेपछि एनआईसीले आपत्ति प्रकट गरहेको हो ।

बैंकका सहायक सीईओ सुुधीर पाण्डेका अनुसार ब्याजदर के–कति तोक्ने र ग्राहकलाई कति प्रतिफल दिने भन्ने बैंकमा निहित रहेको भन्दै बैंकर्स एसोसियसनले कुनै कडाई गर्न नपाउने बताउँछन् ।

एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै कारोबार बन्द गर्ने निर्णय गरेको संघले जनाएको छ । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ ।

तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो ।

एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल भने विदामा बसेका छन् ।

यता, एनआईसीले भने तरलता अभावका कारण बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएको जनाएको छ । यसअघि मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज प्रदान गरेको एनआईसीले शुक्रबार १ प्रतिशत ब्याज बढाउँदै १२ प्रतिशत कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा ५ खर्ब ८७ अर्ब २८ करोड अन्तरबैंक कारोबार भएको छ । यस्तो अन्तरबैंक कारोबार बन्द भएसँगै एनआइसी एसिया बैंकको खर्च बढ्न सक्ने देखिन्छ ।

एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रूपैयाँ पुँजी प्राप्त गर्दै आएको छ । अब बैंकले राष्ट्र बैंकबाट पैसा लिनु पर्दा ७ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, अन्य बैंकबाट हाल ४.४० प्रतिशत पैसा पाउन सक्ने अवस्था छ ।

Comments

Top