अफगानिस्तानसँग पनि नेपाल पराजित, सुपर सिक्सको आशा अझै जिवितै

काठमाडौं । विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । उनी दिलिप नाथको ठाउँमा आएका थिए ।तर, कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।

२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे । त्यसपछि अफगान बलर हावी भए । थप ६ रन जोड्दा कप्तान पारस खड्का आउट भए । आक्रामक पारी खेलेका उनी ७५ रनमा पभेलियन फर्किएका हुन् ।

त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।

उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।

अर्को खेल हङकङ जिम्बाब्वेबीच हुँदैछ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ । हङकङ र अफगानिस्तानको समान २)२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २(२ अंक हुनेछ र रन रेटका आधारमा सुपर
सिक्समा पुग्ने टोली तय हुनेछ ।

तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । नेपाल हार्‍यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ । यसअघि नेपाल जिम्बाबेसँग पराजित भएको थियो ।

Comments

Top