राष्ट्रिय सभा अध्यक्षको मनोनयन आज, तीन जनाले भोट हाल्न नपाउने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने संघीय संसद सचिवालयले जनाएको छ। अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।


एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ ।

यसैबीच, निवर्तमान शेरबहादुर देउवाको निर्णयलाई उल्ट्याएर केपी शर्मा ओली नेतृत्व सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित तीन जना सदस्यले भने अध्यक्षलाई भोट हाल्न नपाउने भएका छन् ।

डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्नबाट बञ्चित भएका हुन् । उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ । अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए । जबकी मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेको थियो ।

राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।

Comments

Top