बूढीगण्डकीसहित ७४० मेगावाट क्षमताको आयोजनाको अनुमतिपत्र खारेज

काठमाडौं । बु्ढीगण्डकी ‘क’ र ‘ख’ आयोजनाको अनुमतीपत्र खारेज भएको छ । पटक–पटक ताकेदा गर्दा पनि प्रवद्र्धकले आवश्यक प्रक्रिया पूरा गर्न नसकेपछि ऊर्जा मन्त्रालयले बूढीगण्डकी ‘क’ र २ सय ६० मेगावाटको बूढीगण्डकी ‘ख’ को अनुमतीपत्र खारेज गरेको हो ।
१ सय ३० मेगावाटको बूढीगण्डकी ‘क’ र २ सय ६० मेगावाटको बूढीगण्डकी ‘ख’ को अनुमतिपत्र खारेज भएको मन्त्रालयले जनाएको छ ।

सचिवस्तरीय बैठकले यी दुई आयोजनाकाप्रवद्र्धक भारतीय कम्पनीलाई दिइएको अनुमतिपत्र खारेज गरेको विद्युत विकास विभागले जनाएको छ । भारतीय कम्पनी पटेल इन्जिनियरिङ लिमिटेड मुम्बईले नेपाली साझेदारसँग मिली संयुक्त लगानीको कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालि स्थापना गरी दुवै आयोजना निर्माणको जिम्मा लिएको थियो । कम्पनीले दुवै आयोजनाको परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन तयार पारिसकेको थियो ।

कम्पनीले बूढीगण्डकी ‘क’ र ‘ख’ बाट उत्पादित कुल ३ सय ९० मेगावाट बिजुली भारत लगेर बिक्री गर्ने योजनासहित आयोजना निर्माणको अनुमति लिएको थियो ।

ऊर्जा मन्त्रालयले ३ सय ५० मेगावाटको दूधकोसी ४ जलविद्युत् आयोजनाको अनुमतिपत्र पनि खारेज गरेको छ । आयोजनाको प्रवद्र्धक रहेको भारतीय कम्पनी केभीआर इन्डिया इन्फ्रा भेन्चरले आवश्यक कागजपत्र पेस नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।

Comments

Top