विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक बेपत्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको यूएस बङ्लाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने २१ जना घाइतेको उद्दार भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको थाहा भएको छ। ७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ।

Comments

Top