प्रत्येक नेपालीमाथि अघिल्लो वर्षको तुलनामा ६ हजार भन्दा बढि ऋण थपियोे

काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा २८ हजार तीन सय ६८ रुपैयाँ ऋण पुगेको छ । गत वर्षको तुलनामा यो छ हजार भन्दा बढिले बृद्धि भएको हो । सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेकाले नेपालीमाथि पनि ऋणको भारी बढेको हो । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार तीन सय ६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा एक जना नेपालीको नाममा २१ हजार ९ सय ६४ रुपैयाँ ऋणभार थियो ।

अघिल्लो आर्थिक वर्षको पुसदेखि यस आर्थिक वर्षको पुससम्म राष्ट्रिय ऋण एक खर्ब ९६ अर्बले बढेका कारण हाल प्रतिव्यक्ति नेपालीलाई ६ हजार चार सयले ऋण भार थपिएको हो ।

सरकारले वैदेशिक र आन्तरिक ऋण दिएको रकमलाई केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको नेपाली जनसंख्याको आधारमा सो हिसाब निकालिएको हो ।

सन् २०१८ मा नेपालको कुल जनसंख्या २ करोड ९२ लाख ९१ हजार ७ सय ४६ जना रहने अनुमान विभागले गरेको छ । गत वर्ष सन् २०१७ मा नेपालको कुल जनसंख्या दुई करोड ८८ लाख ७९ हजार ६ सय ३६ जना रहने विभागको तथ्यांक छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष चालू आवको समीक्षा अवधिमा सरकारले लिएको ऋणमध्ये ४ खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण हो । सरकारले विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिल, वैदेशिक रोजगारपत्र मार्फत एक वर्षको अवधिमा तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ ।
पुस मसान्तसम्म तीन खर्ब ९५ अर्ब २९ करोड बहुपक्षीय वैदेशिक ऋण र ४१ अर्ब १९ करोड द्विपक्षीय ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Comments

Top