राष्ट्रपतिको निर्वाचन हुँदै, विद्या भण्डारी नै दोहोरिने

काठमाडौं । राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टा–छुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।

राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदानमा भाग लिन पाउने छैनन् । उनीहरुको शपथ ग्रहण गर्नुभन्दा एक दिनअघि नै अन्तिम मतदाता नामावली प्रकाशित भएकाले तीन जना सदस्यहरुले मतदानमा भाग लिन नपाउने भएका हुन् ।

प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को नाम पनि अन्तिम नामावलीमा छैन । अदालतबाटदोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

कानुनअनुसार कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । संघीय संसदका ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो । तर, आयोगले मतदाता नामावलीमा ८ सय ८० जनाको नाम मात्रै प्रकाशित गरेकाले उनीहरूको कुल मतभार ५२ हजार ५ सय १ हुन्छ । त्यसअनुसार राष्ट्रपति निर्वाचित हुने व्यक्तिले २६ हजार २ सय ५१ मत ल्याउनुपर्छ । एमाले र माओवादीसहितको वाम गठबन्धनकै मतदाताबाट उक्त मत पुग्ने देखिन्छ ।
मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ ।

 

२०७२ असोज ३ गते संविधान जारी भएपछि भएको निर्वाचनबाट चुनिएकी भण्डारीले पहिलो कार्यकाल २ वर्षभन्दा थोरै बढी पूरा गरेकी छन् । आगामी कार्यकाल पाँच वर्षको हुनेछ । यसअघि पहिलो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसका नेता रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी संविधानसभाले संविधान जारी गरेपछि मात्रै बिदा भएका थिए । यादव ७ वर्ष बढी राष्ट्रपतिको पदमा बहाल रहेका थिए ।

Comments

Top