एन्फालाई कारबाही गर्ने तयारीमा फिफा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) दिन प्रतिदिन विवादमा फसिरहेको छ । कहिले खेलाडी घुस प्रकरण त कहिले कार्य समिति चयनमा विवादमा परेको एन्फालाई अहिले अर्को तनव थपिएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले तोकिएको मितिमा निर्वाचन नगरे कारबाही गर्ने चेतावनी दिएसँगै एन्फालाई अर्को तनाव थपिएको हो । फिफाले अदालतमा परेको उजुरीलाई पनि अवैधानिक भनेको छ ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखू र मकवानपुरका ‘पूर्व’ उपाध्यक्ष मनीष श्रेष्ठले एन्फालाई विपक्षी बनाएर निर्वाचन गरे आफ्नो अधिकार हनन् हुने भन्दै निवेदन दिएपछि शुक्रबार उच्च अदालत, पाटनले ‘त्यसको टुंगो नलागेसम्म चैत १४ मा हुने चुनाव नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश राजकुमार वनको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको थियो । त्यसैले पाँच दिनअघि आएर एन्फाको चुनावी अधिवेशन अन्योलमा परेको हो ।

उच्च अदालतको अन्तरिम आदेश शुक्रबार बुझेपछि एन्फाले तत्कालै एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई त्यसबारे अवगत गराउँदै निर्वाचन सार्ने आशयसहित दुईपल्ट पत्राचार गरेको थियो ।

एन्फाको पहिलो पत्रको जवाफमा फिफाले योजना अनुसार नै निर्वाचन हुने आशा गर्दै परिस्थितिबारे सुसूचित गराउन भनेको थियो । त्यसपछि एन्फाले अन्तरिम आदेशलाई आधार बनाएर चुनाव सार्नुपर्ने कारणहरू उल्लेख गरी पत्राचार गरेको थियो । त्यसमा कडा जवाफ दिँदै फिफाले चुनाव नगरे एन्फालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

Comments

Top