अन्तत झुकिन गायिका मल्ल

काठमाडौं । देउडा गायिका चाँदनी मल्लले माफी मागेकी छन् । जातीय रुपमा अन्य समुदायलाई होच्याएर सामाजिक संजालमा निकै आलोचना खेपेपछि मल्लले माफी मागेकी हुन् । मल्लले ‘बाडुली’ नामक कार्यक्रममा गायिका दीपा रोकायासँग लिएको अन्तर्वार्ता युट्युबमा हेरेर दर्शकले उनको प्रस्तुतिबारे कमेन्ट गरेका थिए ।

मल्लले आफ्नो नामबाट सञ्चालन गरेको युट्यूब च्यानलमा उक्त कार्यक्रम अपलोड गरेकी थिइन् । दर्शकले गायिका मल्लले कार्यक्रममा अतिथिलाई ‘तिमी’ भनेर सम्बोधन गरेको ठीक नभएको टिप्पणी गरेका थिए ।

सोही विषयमा मल्लले गायिका रोकायालाई फोन र फेसबुक च्याटमा जातीय रुपमा होच्याएकी थिइन् । मल्लले फेसबुक च्याटमा भनेकी थिइन्, ‘मलाई तँ नेवार्नी रे, दार्चुलाका खस्या (क्षेत्री)हरूलाई के थाहा म मल्ल ठकुरी राजा हुँ भनेर ।’ फेसबुक च्याटमा मल्लले आफूलाई ठूलो जातकी भनेर अन्य शब्दहरू पनि लेखेकी छन् ।

गायिका मल्लले हेपेको फेसबुक च्याटको स्क्रिन सट आफ्ना साथीहरूमाझ सेयर गरेपछि सो कुरा सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कलाकारजस्तो व्यक्तिबाट जातीय अहमता र विभेदपूर्ण व्यवहार भएको भन्दै गायिका मल्लको आलोचना भएपछि मल्लले शुक्रवार राति आफ्नो फेसबुक स्टाटसमा माफी माग्दै आफूबाट गल्ती भएको स्वीकारेकी हुन् ।

देउडा गायिकाको रुपमा चिनिने गायिका चाँदनी मल्लले टिभी टुडेबाट सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘बाडुली’मा बिभिन्न देउडा कलाकारलाई ल्याएर कुराकानी गर्ने गर्छिन् । गायिका रोकायले भनेकी छिन्, ‘गायिका चाँदनी मल्ललाई मैले सम्मान गर्दै आएकी छु । जातीय भदभावजन्य सोँच रहेछ । दुःख लागेको छ ।’

 

Comments

Top