सलमान खानलाई ५ वर्षको जेल सजाय

salman khanकाठमाडौं । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार पाँच वर्ष कैद र एक करोड जरिवाना सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सो मुद्दामा पुनरावेदन भने गर्न सक्नेछन् ।

खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको हो । खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए। उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।

खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।

जनावर सिकार गरेको अभियोग सलमानलाई मुद्दा लागेको यो चौथोपटक हो। सन् १९९८ मा ‘हम साथ साथ हें’ चलचित्रको छायाङ्कनका बेला दुर्लभ कृष्णसारको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको थियो। यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए। तर, अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

Comments

Top