इक्यानले गुमाउँदै गरेको साखलाई ‘रि गेन’ गराउनु पहिलो प्राथमिकता

maheshbabuनेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी बैशाख ८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । अघिल्ला वर्षहरु झैं यस वर्ष पनि अध्यक्ष पदका लागि दुई समूहबीच भिडन्त हुने निश्चित छ । नेट्कोटेक टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक तथा इक्यानका पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेत र वर्तमान उपाध्यक्ष विष्णुहरी पाण्डेको समूह चुनावी मैदानमा उत्रिएको छ । 
बस्नेतको समूहबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका महेशबाबु तिमल्सिना इक्यानलाई अझै चुस्त र दुरुस्त बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । तिमल्सिनासँग शैक्षिक परामर्श क्षेत्रमा क्षेत्रमा १७ बर्षको लामो अनुभव र ८ वर्षसम्म लगातार इक्यानको महासचिव भएर काम गरेको अनुभव छ । कंगारु एजुकेशन फाउण्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तिमल्सिना अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र युरोपको मान्यता प्राप्त ब्यवसायी समेत हुनुहुन्छ । कुनै पनि विषयको गहिराइ सम्म पुगेर अध्ययन गर्ने तिमल्सिना यस पटकको निर्वाचनमा जीत सुनिश्चित भएको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘इक्यानका सदस्य साथीहरुले इक्यानमा रहेर काम गरेको विषयलाई मध्यनजर गर्न सक्नु भएको खण्डमा मेरो मात्र होइन, हाम्रो प्यानलको नै जीत सुनिश्चित छ ।’ इक्यानको गरिमा बढाउँदै संस्थालाई देश विदेशसम्म परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका तिमल्सिनासँग इक्यानको आउँदै गरेको निर्वाचनको विषयमा आधारित रहेर mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी  :

० निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ ?
– इक्यानको निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । निवाचनको तिव्र तयारी गरिरहेको छु । अहिले मैले सदस्य साथीहरुलाई आफ्नो एजेण्डा प्रस्तुत गर्ने र उहाँहरुको प्रतिक्रिया लिइरहेको अवस्था छ । इक्यानका सदस्य साथीहरुसँगको परामर्शमा नै मैले उम्मेदवारी दिएको हुँ र उहाँहरुको सल्लाह र साथ पाउने अपेक्षा पनि गरेको छु ।

० तपाईंका चुनावी एजेण्डाहरु के–के छन् ?
– हाम्रो प्रमुख एजेण्डा भनको केही समयदेखि इक्यानले गुमाउँदै गरेको साखलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ‘रि गेन’ गराउनु नै हो । शिक्षा मन्त्रालयसँगको सहकार्यमा निर्देशिकाबाट ऐन तथा नियमावली बनाउन हाम्रो जोड रहन्छ ।

शिक्षा मन्त्रालयबाट स्वीकृती लिने सम्बन्धमा छिटो काम गराउन, विदेशी राजदूताबासहरुसँगको सम्बन्धलाई अझै सुधार गर्न, इक्यानका सदस्यहरुलाई बढि भन्दा बढि तालिम प्रदान गरेर दक्ष बनाउन, सदस्य साथीहरुबाट इक्यानमा जम्मा भएको रकममध्ये एकदमै न्यून रकम उहाँहरुकै हितमा खर्च भइरहेको अवस्थामा त्यसलाई बढाउन मेरो मात्र नभई हाम्रो प्यानलको नै प्राथमिकतामा परेको छ ।

अर्को महत्वपूर्ण कुरा इक्यानको कार्यालय परम्परागत किसिमको रहेको हुँदा त्यसलाई परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरको बनाएनु हाम्रो एजेण्डा हो । जसले गर्दा राजदूतहरु तथा परामर्श विज्ञहरुलाई बोलाई छलफल र सेमिनार समेत गर्न सकिन्छ । इक्यानलाई विदेशी कलेज र विश्वविद्यालयमा परिचित गराउने, डिप्लोमेटिक मिसन तथा राजदुतावासहरुसँग पुनःइक्यानको नजिकको सम्बन्ध स्थापित गराउने, इक्यानको सचिवालयलाई बिस्तार तथा आधुनिकीकरण गरी इक्यानको लक्ष्यअनुरुप सुबिधा सम्पन्न तथा सदस्य मैत्री बनाउने हाम्रो एजेण्डा भित्र छन् ।

इक्यानमा लाइब्रेरीको स्थापना गर्ने, व्यवसायमा देखिएका समस्याहरुका बारेमा इक्यानमा गएर छलफल गर्न सकिने वातावरण सिर्जना गर्ने, विद्यार्थी अभिभावक तथा व्यवसायीहरुका लागि हेल्प डेक्सहरु खडा गर्ने योजना बनाएका छौं । हामीले गर्न सकिने र सम्भव हुने योजनाहरु बनाएको हुँदा यि सबै काम गर्न हामी सक्षम हुने मैले देखेको छु ।

० इक्यानको महासचिव भएर काम गरेको लामो अनुभव छ तपाईसँग । यस पटक फेरि उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । यस पटक नयाँ कुरा के दिंदै हुनुहुन्छ इक्यानका लागि ?
– मैले इक्यानमा चार कार्यकाल महासचिव भएर काम गरेको छु । पहिला दुई वटा संघहरु थिए । त्यसको एकीकरण पश्चात बनेको इक्यानमा पनि मैले महासचिव नै भएर काम गर्ने अवसर पाएँ । महासचिव हुँदाको अवस्थामा दैनिक कार्य सञ्चालन देखि लिएर सदस्यहरुसँग सधै परामर्शमा नै रहनु पर्ने अझ भनौ अलि धेरै व्यस्त नै हुनुपथ्र्यो । त्यतिबेला पनि मैले आफ्नो क्षमताले भ्याएसम्म र स्रोतले पुगेसम्मको काम गरेकै हुँ । तर, त्यतिबेला इन्फ्रास्ट्रक्चरको काम भने गर्न पाइएन । अब चाहिं यो पनि काम गर्न पहल गर्ने छु ।

मैले यस पटक उठाउने अर्को महत्वपूर्ण कुरा भनेको इक्यानमा जति पनि अवसरहरु आउँछन्, ति अवसरहरुमा इक्यानका कार्यसमितिका साथिहरुको मात्रै उपस्थिति देखेको छु । जस्तैः विदेशमा हुने

तालिम तथा सेमिनारहरुमा कार्य समिति भित्रका सदस्यहरुले मात्र स्थान पाउनु भएको छ । त्यो स्वभाविक पनि हो । तर, इक्यानका सदस्य साथीहरुलाई पनि सहभागि गराउन पहल गर्ने योजना बनाएको छु । कम्तिमा पनि ५० प्रतिशत साधारण सदस्यबाट सहभागिता जनाउने वातावरण सिर्जना गर्नेछु ।

त्यस्तै अहिले इक्यानमा परराष्ट्र विभाग त छ नै । तर, त्यसले सोचे अनुरुपको काम गर्न सकेको छैन । एउटैले सबै काम गर्नु पर्ने अवस्था छ, त्यसैले पनि काम गर्न नसक्नु स्वभाविकै हो । त्यसैले अब मैले इक्यानमा महादेशिय रुपमा विभाग खडा गरि काम गर्ने वातावरण मिलाउने छु । यसलाई आवश्यक परेको खण्डमा काम गर्न सहज हुने तरिकाले ‘कन्ट्री वाइज’ पनि बनाउन सकिने छ ।

० तपाईंको समूह (प्यानल) चाहिं कसरी अगाडि बढेको छ त ?
– समूहगत रुममा हामी एकदमै बलिया छौं । हामीले हाम्रो समूहमा सकेसम्म कन्सलटेन्सी क्षेत्रमा लामो अनुभव भएका र यो क्षेत्रमा रहेर केही योगदान गर्न सक्ने व्यक्तिलाई राखेका छौं । इक्यानभित्र राजनीतिक चर्चा पनि हुने गरेका छन् । तर, हामीले राजनीतिक आस्था जुनसुकै भएपनि इक्यानलाई विशुद्ध व्यवसायिय संस्थाको रुपमा अगाढि बढाउँदै छौं ।

० पछिल्लो समय कन्सलटेन्सी क्षेत्र अलि बढि विवादित पनि बन्दै गएको अवस्था छ, त्यसलाई कम गराउन तपाईहरुको के प्रयास हुन्छ ?
– हो, छोटो समयमै धेरै कमाउन चाहने केही व्यक्तिहरुका कारण यो क्षेत्र विवादित बन्दै गएको अवस्था छ । हुनत शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर नै कन्सलटेन्सीहरु सञ्चालन भइरहेका छन् । तर, शिक्षा मन्त्रालयले पनि नियमित अनुगमन गर्न सकेको छैन । बजारमा आएका त्यस्ता कन्सलटेन्सीका बारेमा धेर थोर इक्यानलाई पनि जानकारी छ ।

तर, इक्यान आफै कारवाही गर्ने संस्था नभएको हुँदा केही गर्न सकेको छैन । इक्यानमा आवद्ध संस्थाहरुलाई मात्र हेर्ने हुँदा बजारका सबै कन्सलटेन्सीहरुमाथि इक्यानले निगरानी राख्न असंभव पनि छ । तर, अब चांहि हामी गलत गर्ने संस्थालाई कारबाही गर्न गृह तथा शिक्षा मन्त्रालयसँग परामर्श गरि समन्वय गरेर अगाडि बढ्नेछौं ।

० उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुबाट उठाएको १ प्रतिशत कर विद्यार्थी हितमा खर्च नभएको विषयमा आवज उठिरहेको छ । तपाईंहरुले त्यसलाई कसरी लिनु भएको छ र अब के गर्नुहुन्छ ?
– हो, सरकारले अहिले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुबाट शिक्षा कर वापत एक प्रतिशत लिइरहेको छ । तर, उक्त रकम विद्यार्थीको हितमा खर्च हुन सकेको छैन । सरकारी नियम आजको भोली नै परिवर्त गर्न त सकिंदैन । तर, हामीले त्यसलाई विद्यार्थीकै हितमा खर्च गर्नका लागि पहल भने गरिरहने छौं ।

विदेशमा समस्यामा परेका विद्यार्थीहरुको लागि उक्त रकम खर्च गर्ने वतावरण सिर्जना गर्न हाम्रो पहलकदमी रहनेछ । अर्को कुरा विद्यार्थीले आफ्नो अध्यनका लागि विदेशी शैक्षिक संस्थामा ट्युसन फि बुझाएका हुन्छन् । तर, ति शैक्षिक संस्था बन्द भएको अवस्थामा कतिपय देशले विद्यार्थीको उक्त रकम फिर्ता पनि गर्दैनन् । त्यसैले उक्त रकमको विमा गर्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता छ र त्यसका लागि हामी प्रयासरत छौं ।

० इक्यान जस्ता अन्य संस्थाहरुसँग एकताको कुरा पनि उठिरहेका छन् । यदि तपाईंको समूहले चुनाव जितेको खण्डमा त्यसको लागि पहल गर्नुहुन्छ त ?
– एकता भन्ने कुरा त्यति सहज त हुँदैन नै । एकता गर्नु भन्दा पहिले हामीले समन्वय शुरु गर्नुपर्छ । समन्वय र सहकार्य भएको खण्डमा एकताको पहल पनि हुन सक्छ । हाम्रो काम एउटै भएको हुँदा एकताको पहल पनि गर्न सकिन्छ ।

० इक्यानका सदस्यहरुलाई के भन्नुहुन्छ ?
– इक्यानमा राम्रो शिक्षा पाउनु भएका, विदेशी शिक्षण संस्थाहरुसँग काम गर्नु भएका, विदेश भ्रमण गरेर बुझ्नु भएका, आफ्नो संस्थालाई राम्रोसँग सञ्चालन गरिरहनु भएका साथीहरु हुनुहुन्छ । उहाँहरु नै जानकार हुनुहुन्छ । त्यसैले मैले यो अथवा त्यो भनिरहनु पर्ला जस्तो लाग्दैन । त्यसैले उहाँहरुलाई आफ्नो विवेक प्रयोग गरेर अहिलेसम्म गरेको काम र भोलि गर्न सक्ने कामलाई मूल्यांकन गरी सहि उम्मेदवारलाई विजयी गराउनु हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । इक्यानको कार्यकाल दुई वर्षको रहन्छ ।

त्यसैले हामीले एउटा नारा नै बनाएका छौं : ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ । जस अनुसार हामी अगाडि बढ्नेछौं । अर्को कुरा पछिल्लो समयमा इक्यानका सदस्य साथीहरुमा इक्यानले आफ्नो ट्रय्राक गुमाएको आभाष भएको र मैले इक्यान सदस्य भएर के पाउँछु भन्ने प्रश्न खडा भएको अवस्था छ । त्यो अनुभुत गराउने गरी हाम्रो समूहले काम गर्ने छ । इक्यानलाई सहि बाटोमा हिडाएको हेर्न चाहनुहुन्छ र इक्यानमा परिवर्त भएको हेर्न चाहनुहुन्छ भने मलगायत मेरो समूहलाई सपोर्ट गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।

० अन्त्यमा, कंगारु एजुकेशन फाउण्डेसनको बारेमा बताईदिनुस् न ।
– कंगारु एजेकेशन फाउण्डेसन भनेको विदेशी शैक्षिक संस्थाहरुसँग सहकार्य गरि नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउन काम गर्दै आएको संस्था हो । कंगारुले तयारी कक्षा सञ्चालन गर्ने देखि विदेशका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई भर्ना गराउन र भिषा प्रक्रियामा सहयोग गर्दै आएको छ । म सन् २००१ देखि नै यो पेशामा आवद्ध भए पनि कंगारुको स्थापना भने २००७ मा भएको हो । त्यसैले मैले यसलाई लामो दौडको घोडाको रुपमा लिएको छु । सबैभन्दा पहिले अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आएको भए पनि कंगारुले अहिले न्युजिल्याण्ड, यूएसएलगायतका देशहरुका शैक्षिक संस्थाहरुसँग पनि सहकार्य गरेर काम गरिरहेको छ । अहिले हामीले नेपालमा सात स्थान र अष्ट्रेलियामा एउटा गरी आठ ठाउँबाट विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरिरहेका छौं ।

हामीकहाँ विद्यार्थीहरुले ‘वान स्टप सोलुसन’ पाउनु हुनेछ । हामीले कंगारुमा आएका विद्यार्थीलाई आवश्यक सम्पूर्ण सेवा र सुविधा प्रदान गर्दै आएका छौं । नेपालमा मात्र नभई हामीले विदेशमा एयरपोर्ट पिकअप देखि लिएर विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण काम गर्दै आएका छौं । अझै पनि हामी कंगारुलाई विद्यार्थी तथा अभिभावकको चाहना अनुरुप अझै उत्कृष्ट बनाउँदै लैजान खोजिरहेका छौं ।

Comments

Top