फरार मनाङेले सेटिङ गरी पाए सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति

donmanange_1

 काठमाडौं । गुण्डा नाइके दीपक मनाङ्गेले रहस्यमाय तरिकाले सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति पाएका छन् ।

मनाङ्गेले विशेष अदालतबाट सफाइ पाएका थिए । सरकारी वकिलको कार्यालयले लापरवाही गर्दा मनाङ्गेविरुद्धको मुद्दा पुनरावेदन नै गरिएको छैन । सरकारी वकिलले हदम्याद गुजारेपछि सर्वोच्चले मनाङ्गेको मुद्दाको पुनरावेदन दरपीठ गरेको स्रोतले जनाएको छ ।

मनाङ्गेको मुद्दा सरकारी वकिलले हदम्याद गुजारेर दर्ताका लागि ल्याएका कारण दरपीठ भएको हो । माघ १२ गते पुनरावेदन निवेदन दरपीठ भएको थियो ।

तत्कालीन महान्यायाधिवक्ता वसन्तराम भण्डारीको कार्यकालमै मुद्दा पुनरावेदनमा जाने निर्णय भएपनि विशेष सरकारी वकिल कार्यालयले हदम्याद गुजारेको तथ्य बाहिर आएको छ ।

विशेष अदालत ऐन अनुसार ३५ दिन नियमित र १५ दिन थमाउन पाउने म्याद गरी ५० दिनभित्र पुनरावेदन दर्ता हुनुपथ्र्यो । मनाङ्गेको मुद्दा ६१औँ दिनमा मात्र पुनरावेदनका लागि पेश भएको थियो ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा मनाङ्गेको हकमा विशेषको फैसला नै अन्तिम हुनेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङ्गेसहित पाँच गुण्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो ।

जसमध्ये तीन जनाले सफाइ पाइसकेका छन् । मनाङ्गेसँगै मिलन गुरुङ र पर्शुराम बस्नेतले सफाइ पाइसकेका छन् । मनाङ्गेसँग अवैध रुपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ सम्पत्ति रहेको दाबी गरेको थियो ।

Comments

Top