सरकारी गाडी आफ्नो बनाउने दिन गए

griha_1काठमाडौं । अब सरकारी सवारीसाधन लगेर आफ्नो बनाउनेहरुका दिन सक्किएको छ । गृह मन्त्रालयले अबदेखि सरकारका सबै उच्च अधिकारीले चढ्दै आएको सरकारी गाडीको नम्बर प्लेट अनिवार्य रूपमा सेतो बनाउनुपर्ने निर्णय गरेसँगै आफ्नो बनाउँदै आएकाहरुको ओठ तालु सुकेको छ । सरकारी सुविधा लिएर आफ्ना बच्चालाई विद्यालय पु¥याउने देखि आफ्नै काममा मात्रै प्रयोग गर्दै आएकाहरुलाई भने समस्या भएको हो । खर्च सरकारको काम आफ्नो गर्दै आएका उनीहरुमाथि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो । रातो (निजी) नम्बर प्लेट प्रयुक्त सरकारी गाडीको अत्यधिक दुरुपयोग भएपछि गृह मन्त्रालयले कडाइ गर्न लागेको हो।

भर्खरै गृहमा सरुवा भएका सचिव प्रेमकुमार राईले यसअघि गृहसचिवले चढ्दै आएको रातो प्लेटको गाडीको नम्बर प्लेट सेतो बनाएर सुरुवात आफैंले गरेका छन्। यसअघिका प्रायःजसो सबै गृहसचिवले रातो प्लेटको गाडी चढ्दै आएका थिए।

सरकारी उच्च अधिकारीहरूले आफूले पाउने सुविधाको गाडीको सेतो प्लेट फेरेर रातो बनाउने क्रम बढेको थियो। रातो प्लेट बनाएर सरकारी अधिकारीले सरकारी गाडीको निजी र घरायसी काममा अत्यधिक दुरुपयोग गरेको पाइएपछि नियन्त्रण गर्न गृहकार्य थालिएको गृह मन्त्रालयले जनाएको छ।

गृहले सेतो प्लेट अनिवार्य प्रयोग गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ । गृहका अनुसार यसरी सेतो प्लेट फेरेर रातो बनाई गाडी चढ्नेहरूमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा सदस्य, अधिकांश मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक तथा विभिन्न आयोजना, परियोजना प्रमुखहरू छन्। सरकारी गाडीको दुरूपयोग गर्ने सरकारी उच्च अधिकारीको संख्या ५ सयदेखि १ हजारसम्म रहेको गृहको आँकलन छ।

Comments

Top