एमाले माओवादीबीचको एकता ९ गते नहुने पक्का

uml-maoकाठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षले पाएका छन् । पार्टी एकता संयोजन समितिको आजको बैठकले एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिने निर्णय गरेको हो ।

पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् ।

महासचिव इश्वर पोखरेलले यही वैशाख ५ गते विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरु काठमाडौँ बाहिर जाने भएकाले वैशाख ६ गते मात्रै औपचारिक तयारी हुने जानकारी दिए । जसले गर्दा वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने उनले बताए । पोखरेलले भने, ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन।’

यसैबीच माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ९ गतेका लागि तयारी नपुग्ने देखिएको पनि बताए । श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन । त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन ।’

दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् ।

यसअघि सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने ठहर गरेको थियो। संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता घोषणाका लागि अब समय अभाव हुने बताएका हुन्।

Comments

Top