इक्यान निर्वाचन : यसरी शक्तिशाली बन्दै छ बस्नेत समूह

ecannirwachan

 काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो शनिबार निर्वाचन हुँदैछ । दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनमा प्यानलसहित दुई वटा समूहले उमेदवारी दिइसकेका छन् । बुधबार दुबै समूहले मनोनयन दर्ता गराई सकेका छन् । नेट्कोटेक टेक्नोलोली प्रालिका सञ्चालक तथा इक्यानका पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेत र इक्यानका वर्तमान उपाध्यक्ष तथा रोयल फाउण्डेसनका सञ्चालक विष्णुहरी पाण्डेको समूह चुनावी मैदानमा उत्रिएको छ । दुबै समूहले आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।  

 ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारा नै बनाएर चुनावी मैदानमा उत्रिएको बस्नेत समूहले सन् २०२० सम्मको लक्ष्य सार्वजनिक गरेको छ । बस्नेत समूहले आगामी कार्यकालका लागि विशेष योजना सार्वजनिक गरेको हो । इक्यानभित्र राजनीति हावी भइरहेको अवस्थामा बस्नेत समूहले इक्यान राजनीतिक मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । अध्यक्षका प्रत्यासी बस्नेत भन्छन्–‘इक्यान विशुद्ध व्यवसायीक संस्था हो, यहाँ कुनै पनि प्रकारको राजनीति हुँदैन र हुन दिनु पनि हुन्न । सबै व्यवसायीहरुलाई समेटेर अगाडि बढ्नु पर्छ ।’

 विगत १५ वर्षदेखि कन्सलटेन्सी क्षेत्रमा आवद्ध बस्नेतलाई इक्यानका अधिकांश सदस्यहरुको साथ र समर्थन रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पनि इक्यानको पहुँच पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्नेत बताउँछन् । व्यवसायिक हितका लागि काम गर्ने उनको पहिलो उद्देश्य रहेको छ । अनुभवी, सरल, विश्वाशिलो र धेरै व्यवसायीहरुको मन मस्तिष्कमा बस्न सफल बस्नेतले यस पटक भने इक्यानको नेतृत्व लिने पक्का पक्की जस्तै छ । 

 इक्यानलाई संघीय ढाँचामा लैजानेदेखि मन्त्रालयसँग सम्बन्ध सुमधुर बनाउने उनका योजना छन् । बस्नेत समूहले संघको संस्थागत सुधार, कोषको व्यवस्थापन, नयाँ शैक्षिक गन्तव्यको खोजी गरी वैदेशिक अध्ययनलाई मर्यादित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।  बस्नेत समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सुर्यबहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठ रहेका छन् ।

 त्यसैगरी सदस्यमा प्रशान्त साह, मणिराम रावत, दीपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री केसी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मनोरम साह रहेका छन् ।  उपाध्यक्षमा उम्मेदवारी दिएका तिमल्सिना केही समयदेखि इक्यानले गुमाउँदै गरेको साखलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ‘रि गेन’ गराउनु आफ्नो समूहकै पहिलो एजेण्डा रहेको बताउँछन् । कंगारु एजुकेशन फउण्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तिमल्सिना विदेशी राजदूताबासहरुसँगको सम्बन्धलाई अझै सुधार गर्न, इक्यानका सदस्यहरुलाई बढि भन्दा बढि तालिम प्रदान गरेर दक्ष बनाउन, सदस्य साथीहरुबाट इक्यानमा जम्मा भएको रकममध्ये एकदमै न्यून रकम उहाँहरुकै हितमा खर्च भइरहेको अवस्थामा त्यसलाई बढाउन पहल गर्ने बताउँछन् ।  

  इक्यानको सचिवालयलाई बिस्तार तथा आधुनिकीकरण गरी इक्यानको लक्ष्यअनुरुप सुबिधा सम्पन्न तथा सदस्य मैत्री बनाउने पनि बस्नेत समूहको एजेण्डा भित्र छ । त्यसैगरी यो समूहले इक्यानमा लाइब्रेरीको स्थापना गर्ने, व्यवसायमा देखिएका समस्याहरुका बारेमा इक्यानमा गएर छलफल गर्न सकिने वातावरण सिर्जना गर्ने, विद्यार्थी अभिभावक तथा व्यवसायीहरुका लागि हेल्प डेक्सहरु खडा गर्ने योजना बनाएको छ । चार कार्यकाल महासचिव भएर काम गरेको अनुभव भएका तिमल्सिनाले इक्यानमा आउने अवसरहरुमा इक्यानका कार्यसमितिका साथिहरुको मात्रै उपस्थिति भइरहेको अवस्थामा इक्यानका सदस्यलाई पनि सहभागि गराउन पहल गर्ने योजना बनाएका छन् ।  

 बस्नेत समूहको उपाध्यक्षमा उम्मेदवारी दिएका अर्का उम्मेदवार हुन्, राजेन्द्र रिजाल । एक कार्यकाल सचिव र हाल प्रथम उपाध्यक्ष भएर काम गर्दै आएका उनी व्यवसायी साथीहरुको समर्थन पाउनेमा ढुक्क छन् । उनी भन्छन्–‘मैले जुन ठाउँमा बसेर काम गरेको छु त्यो सबैका लागि प्रशंसनीय छ र भोलि पनि जिम्मेवारी निभाउँछु । म १२ वर्षदेखि यो क्षेत्रमा लागेको छु, हामीमा केही समस्या होलान् त्यसलाई व्यवस्थित गर्ने अबको योजना हो ।’ काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक समेत रहेका रिजालले आफूहरुको समूहले व्यवसायीको हकहितका लागि एकतावद्ध भएर काम गर्ने दावी गरेका छन् ।

 त्यसैगरी उपाध्यक्षका अर्का उम्मेदवार तथा इक्यानका वर्तमान सचिव उमेश ढुंगेल पनि आफ्नो जित सुनिश्चित भएको दावी गर्छन् । बर्तमान महासचिव सन्तोष प्याकुरेलले अहिले बस्नेतकै समूहबाट पुनः महासचिवमा नै उम्मेदवारी दिएका छन् । कमन फाउण्डेसनका सञ्चालक प्याकुरेलले यस अघि पनि पनि अत्याधिक मत ल्याएर जितेका थिए ।
बाँकी रहेका काम सम्पन्न गर्नकै लागि आफूले पुनः उही पदमा दोहारिन खोजेको उनले बताएका छन् । उनको आगामी कार्ययोजनामा इक्यानको सुविधा सम्पन्न भवन, सि.आर.एमको विकास, इक्यानलाई प्रादेशिक रुपान्तरण, इक्यानका साखालाई ससक्त र अधिकार सम्पन्न बनाउनु, समन्वय समितिको निर्माण तथा वैदेशिक कुटनीतिक नियोगसँग समन्वय गर्नेलगायत रहेका छन् । 

 यो निर्वाचनमा चिरपरिचित भट्टराई र प्याकुरेलबीच कडा प्रतिस्पर्धा हुने इक्यानका सदस्यहरु नै बताउँछन् । आफ्नो समूहका उम्मेदवारहरु लामो समयदेखि कन्सलटेन्सी क्षेत्रमा आवद्ध रही व्यवसायीका हिसावले काम गर्दै आएका कारण सबैको जीत सुनिश्चित रहेको उपाध्यक्ष पदका उम्मेदवार उमेश ढुंगेल दावी गर्छन् । बस्नेत समूहलाई पूर्व अध्यक्षहरुको समेत साथ रहेको छ । 

 उता, पाण्डे समूहले आफू धेरै बर्षदेखि यो क्षेत्रमा लागेको र आफ्नो नेतृत्वले सबैको पक्षमा राम्रो काम गर्ने उद्देश्यले अध्यक्षको उम्मेदवारी दिएको बताए पनि ठोस एजेण्डा भने सार्वजनिक गर्न सकेको छैन । पाण्डे समूहबाट उपाध्यक्षमा देवीदास भट्टराई, खड्गबहादुर ताम्लिङ लिम्बु र सपना राजभण्डारीको उम्मेदवारी परेको छ । महासचिवमा शेषराज भट्टराईको उम्मेदवारी छ भने सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसालले उम्मेदवारी दिएका छन् । त्यसैगरी कोषाध्यक्षमा गोविन्द अधिकारी, सह–कोषाध्यक्षमा निरुपमा महर्जन  रहेका छन् ।

 सदस्यहरुमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, बासुदेव दाहाल, यज्ञविलास पौडेल, बालकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, सुदन चौहान र शुष्मा आचार्य रहेका छन् ।  इक्यानमा एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र नौ सदस्य गरी १८ जनाको नयाँ नेतृत्व चयन हुनेछ ।

 

Comments

Top