फेसबुक लाइभ गर्दागर्दै गोली लागेर पत्रकारको मृत्यु

Angel Gahonaकाठमाडौं । सत्य तथ्य समाचार छिटो भन्दा छिटो आम जनतामाझ पुर्याउनु पत्रकारको दायित्व नै हो । त्यसैले पनि पत्रकारहरु छिटो भन्दा छिटो समाचार प्रसारण गर्न खोजिरहेकै हुन्छन् । त्यसैले पनि पछिल्लो समय सबैभन्दा छिटो समाचार दिने स्रोत बनेको छ सामाजिक सञ्जालहरु । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन बढ्दो छ ।

निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै स्थानीय एक पत्रकारको ्गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार मृत्यु हुने एन्जेल गहोना पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए । उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेका थिए । र, त्यहिबेला गोली लाग्यो ।

सामाजिक सन्जालमा एक भिडियो भाइरल भइरहेको छ जुन एन्जेल गहोनाको भनिएको छ । भिडियोमा निलो टिसर्ट लगाएका गहोनाले प्रदर्शनकारीले मेयरको कार्यालयमा पुर्‍याएको क्षतिबारे जानकारी दिइरहेका हुन्छन् । अचानक गोली चलेको आवाज सुनिन्छ र उनी भुइँमा ढल्छन् ।

गोली कसले र किन चलायो भन्ने थाहा हुन सकेको छैन । एक जना सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्–‘यी एन्जल गहोना हुन् । उनको मृत्यु फेसबुक लाइभ गर्ने क्रममा भयो । ब्लुफिल्ड्समा प्रहरी र प्रदर्शनकारीबीच तनाव फैलिएपछि गोली चल्छ र उनी ढल्छन् ।उनी अघि लेख्छन्–‘एन्जेलले गोली लाग्नुभन्दा पहिले लाइभमा भनेका हुन्छन्, ‘प्रहरी आइरहेको छ र सुरक्षित हुनु जरुरी छ ।’

यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर, मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।

निकारागुआमा सामाजिक सुरक्षा र पेन्सनमा सुधारको विषयलाई लिएर गत बुधबारदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मजदुर र जागिरेहरुको पेन्सन सुविधामा पाँच प्रतिशत कटौती गरिएको विरोधमा आन्दोलन भएको हो ।राष्ट्रपति डेनियल ओर्टेगाले यसमा सुधार गर्ने घोषणा गरे पनि सरकारविरुद्धको प्रदर्शन रोकिएको छैन । एजेन्सी

Comments

Top