चन्दाबाट उठेको एक करोड रुपैयाँले दश किमी सडक निर्माण

Roadबाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए ।

‘राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाएपछि आफँै स्रोत जुटाएर सडक खनेका हौँ’ अध्यक्ष पुर्जाले भने–‘सरकारी बजेटको तुलनामा कैयौँ गुणा धेरै रकम जुटाएर बनाएको सडकलाई तत्कालीन जिविसले जनसहभागिताको नमूना घोषणा गरी सम्मान गरेको थियो ।’

विसं २०६७ मा महभिरदेखि शुरु भएको सडक निर्माण कार्यले विसं २०७४ पुसमा धार्मिक पर्यटकीयस्थल पेरीभारानी ताल नजिकै पुगेपछि पूर्णताः पाएको हो । उक्त सडक निर्माणमा तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करीब रु १० लाख सहयोग रकम उपलब्ध गराएका थिए । सडक मर्मतका लागि चालू आवमा अन्नपूर्ण गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ ।

‘चट्टानी पहाड र भिरालो भूगोलमा सडक खनेर गाडी गुडाउने चुनौतीलाई चिर्न सफल भएका छौँ’ अध्यक्ष पुर्जाले भने–‘स्थानीयवासीको आर्थिक, भौतिक, नैतिक र सक्रिय सहयोगले सफल भयौँ ।’ सडक निर्माणका लागि १९४ जना चन्दादाताले रु दुई हजारदेखि १० लाखसम्म सहयोग गरेका छन् । ९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बाहुल्यता छ । रोजगारीका लागि बेलायत, हङकङ, अमेरिका, कोरिया, भारत, कतार, साउदीलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँ, पोखरा, बेनीमा बस्ने घराम्दीवासीले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन् ।

सबैभन्दा बढी रु १० लाख ४५२ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षीया ज्येष्ठ नागरिक तिलीसरा गर्बुजाले शनिबार घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गरेका हुन् । महभिरदेखि घराम्दीसम्म करीब दुई घण्टाको उकालो पैदलयात्रा गर्नुपर्ने बाटो अहिले ३० मिनेटमा छोटिएको छ । सडक निर्माण भएपछि स्थानीय पनि हर्सित बनेका छन् ।

Comments

Top