नेपालमै पहिलो पटक उच्च क्षमताको सिमेन्ट उत्पादन गर्दै होङ्सी

honshii

 काठमाडौं । चिनियाँ ७० प्रतिशत र स्वदेशी ३० प्रतिशत लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी जेठ दोस्रो साताबाट उत्पादन शुरु गर्ने भएको छ । दुई देश गरी ३६ अर्ब लगानी रहेको उद्योगले सिमेन्ट उत्पादन थालेपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने देखिएको छ ।

 उद्योगद्वारा उत्पादित सिमेन्ट बजारमा आएपछि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थपिने भएको हो । जसले गर्दा बजारमा सिमेन्टको मागमा केही हदसम्म भएपनि पूर्ति हुने देखिएको छ । उद्योगले मे महिनाको अन्त्यदेखि सिमेन्ट उतपादन गर्ने गरी काम शुरु भइरहेको होङ्सी शिवम् उद्योगका नायब महाप्रबन्धक गौरव गोयलले बताए । नेपालको विशाल समूह र चीनको होङ्सी समूहको संयुक्त लगानीमा नवरपरासीको सर्दीमा उक्त उद्योग स्थापना भएको हो । होङ्सीले फागुनदेखि नै सिमेन्ट उत्पादन थाल्ने तयारी गरेको थियो ।

 कारखाना परीक्षणलगायत अन्य प्राविधिक पक्षको काम पूरा नहुँदा सिमेन्ट उत्पादन गर्न २ महिना ढिला हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिद सिमेन्ट उद्योग सञ्चालनमा थर्मल प्लान्ट राख्नुपर्ने भएको छ ।

 नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले काम गर्दै गरेकोले तत्काल विद्युत् आपूर्ति नहुने देखिएको हुँदा थर्मल प्लान्ट राख्नु पर्ने भएको हो । उद्योगले थर्मल प्लान्ट जडान गरेर मात्र विद्युत् उत्पादन गर्न सक्ने भएपछि एकातिर पहिले तय गरिएको उत्पादन मिति पछि धकेलिएको छ भने अर्कोतिर थर्मल प्लान्ट जडानका लागि थप १ अर्ब ३६ करोड रूपैयाँ लगानी गर्नुपर्ने देखिएको छ ।

 देशमै ठूलो विदेशी लगानीमा उद्योग सञ्चालनका लागि उद्योग निर्माण कार्य भइरहँदा विद्युत् प्राधिकरणले समयमा विद्युत् प्रशारण लाइन जडान गर्न नसक्दा उद्यमीले ५० मेगावाट विद्युत् उत्पादन गर्ने गरी थर्मल प्लान्ट जडान गर्नु परेको छ । यसले उत्पादन लागत बढाएको छ । पूर्व निर्धारित समय अनुसार उद्योगले फागुनबाटै उत्पादन शुरु गर्ने लक्ष्य राखेको थियो । पछि चैतसम्म सिमेन्ट कारखानाको सबै काम पूरा गरेर परीक्षण उत्पादन गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने तयारीमा छ ।

 उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम शुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन गर्ने भनिएपनि केही विद्युतका कारण ढिला हुन गएको हो । पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन र त्यस पश्चात उत्पादन दोब्बर बढाएर १२ हजार मेट्रिक टन पु-याउने योजनामा उद्योग रहेको छ । उद्योगले सुधारिएको स्टिम इञ्जिन प्रणालीबाट खेर जाने धुलोलाई प्रयोग गरेर १२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

 कुल ८० मेगावाट विद्युत्बाट दैनिक १२ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सकिने उद्योगको भनाइ छ । गत भदौ १८ गते लगानी बोर्ड र होङ्सीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौता अनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । उद्योगले सिमेन्ट उत्पादन गर्न दैनिक ३ हजार टन चुनढुङा आपूर्तिको काम गरिरहेको छ । होङसीले सिमेन्ट उत्पादन थालेपछि बजारमा सिमेन्टको आपूर्ति बढ्न गई मूल्य घट्ने अनुमान समेत गरिएको छ ।

 कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने विज्ञहरूको बुझाइ छ । उद्योगले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने दाबी गरेको छ । जलविद्युत् आयोजना, पुल पुलेसा तथा ठूला संरचना बनाउन नेपालका अन्य सिमेन्ट उद्योगको गुणस्तर नपुग्ने भन्दै नायब महाप्रबन्धक गोयलले होङ्सी शिवम् सिमेन्ट उद्योगले नेपालमा पहिलो पटक उच्च क्षमताको सिमेन्ट उत्पादन हुन लागेको जानकारी दिए ।

Comments

Top