ओलीलाई गगनको प्रश्न : प्रधानमन्त्रीज्यू तपाईंको घुँडामा भ्वाँङ पर्यो कि परेन ?

gaganकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आज नाङ्गै हिँडेको आरोप लगाएका छन्। सोमबारको संसद बैठकमा थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भन्दै प्रश्न समेत गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै स्वघोषित राष्ट्रवादी सरकारले मोदीको स्वागतमा अनावश्यक चाकडी गरेको बताए।

‘प्रधानमन्त्री महोदयलाई हिजो चुनावको प्रचारप्रसारका बेला मैले मात्रै राष्ट्रवादको जिम्मा लिएको छु, बाँकी रहेका सबै पार्टीका सबै नेता नेपाल बेच्न उद्धत छन् भनेर भन्नुभएको क्षण सम्झाएको छु’, संसदमा थापाले भने–‘हिजो अरूलाई कुरीकुरी गर्नुभएको थियो। आज नाङ्गै हिड्नुभएको कुरा हामीले देखाउनुपरेको छ।’

थापाले भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि पनि प्रश्न उठाए। उनले प्रधानमन्त्रीले भारतको जिम्मा लिएर बोलिरहँदा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ?’, भन्दै प्रश्न गरेका हुन्।

उनले विगतमा प्रधानमन्त्री ओलीले शेरबहादुर देउवाको भ्रमण र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणलाई सिङ्गडा खान गएको र घुँडा टेक्न गएको रूपमा अर्थ्याएको प्रसङ्ग निकाल्दै अरुले गरे पाप आफूले गरे चाहिं पुण्य ? भन्दै ओलीमाथि प्रश्न तेस्र्याएका थिए ।

थापाले भारतीय प्रधानमन्त्री नेपालमा तीर्थ यात्राका लागि आएका कारण तीर्थयात्रा सफल भएको बताए। थापाले भने–‘सुशील कोइरालालाई लम्पसारवादी भन्ने अडानले नाकाबन्दी लाग्यो। अहिले सत्तासिन सांसदले सुरक्षा दिन सकेन भन्नु भएको छ। भारतीय राष्ट्रपति आउँदा उहाँले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भन्नु भएको थियो। पहिला घुँडामा घाउ भयो भन्नु भएको थियो। हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ पर्‍यो भन्न पाउने कि नपाउने ?।’

उनले प्रदेश २ को मुख्यमन्त्रीको धारणा भने निन्दनीय भएको बताए। ‘पाकिस्तानको मुख्यमन्त्रीले मुसलमान माथि विभेद भएको छ भन्दैन’, थापाले भने–‘हाम्रो मुख्यमन्त्रीको धारणा निन्दनीय छ।’ थापाले एमाले सांसद बस्नेतको प्रदेश २ का मुख्यमन्त्रीलाई झण्डाका विषयमा तालिम दिने कुरा गरेको प्रति समेत आपत्ति जनाए। ‘नेपालको संविधानले परराष्ट्र मामिला केन्द्रलाई जिम्मा दिएको छ। तालिम परराष्ट्र मन्त्रीलाई दिने भन्न पाउने कि नपाउने ?’ थापाले भने।

‘नाकाबन्दी बिर्सेको छु भन्न पाउने कि नपाउने, थापाले पुन प्रश्न गर्दै भने–‘हिजो भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने। अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने हो कि होइन ? यो कस्तो लम्सवादार हो। यो कस्तो चाकडी हो।’

भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेको र कालापानीमा भारतीय सेना राख्न मौन स्वीकृति दिएको स्मरण गर्दै उनले कालापानी दोहोर्‍याउन खोजिएको त होइन ? भन्ने प्रश्न गरे । सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले अघि भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने ?’

संसदमा बोल्दै थापाले राष्ट्रियतालाई भोटको विषय नबनाउन आग्रह समेत गरे । नेपालको भारत र चीनसँगको सम्बन्धबारे साझा दृष्टिकोण बनाउने बेला आएको भन्दै उनले भने–‘सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं, अनि बल्ल तीर्थयात्रा होला वा मित्रयात्रा होला, त्यसबाट नेपालले लाभ लिन सक्छ ।’

Comments

Top