मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु

Plain-crashकाठमाडौं । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको भन्दै चालक दलका सदस्यहरुको मृत्यु भएको पुष्टि गरे । उनले थप विवरण आउन बाँकी रहेको पनि बताए ।

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । विमान उडेको केहि बेरबाट नै सम्पर्क विच्छेद भएको थियो । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए ।

दुर्घटनास्थल सिमकोटदेखि १०।७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ। डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताए।

जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो। बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए। तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो।

टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।

Comments

Top