अमेरिकाको गुप्तचर निकाय सीआईएमा पहिलो पटक महिला निर्देशक

jina

काठमाडौं । अमेरिकी गुप्तचर निकायले पहिलो पटक महिला निर्देशक पाएको छ । राष्ट्रपति ट्रम्पले गुप्तचर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो।

राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो।सीआईएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन्। उनी अघिका सीआईए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए।

सीआईएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन्। सन् २००२ मा उनलाई सीआईएले थाइल्याण्डस्थित ‘ब्ल्याक साइट’ भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो। अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ।

Comments

Top