सरुवा बढुवापछि आईजीपीको ध्यान प्रहरीको भवन निर्माणमा

IGP Khanal

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल नियुक्त भएसँगै सरुवा र बढुवाका कामहरु धमाधम सम्पन्न भइरहेका छन् । प्रहरीमा संघीय संरचना लागु गर्नका लागि आईजीपी खनालको दौडधुप दिन रात जारी छ । खनाल आईजीपी भएसँगै लामो समयदेखि एउटै पदमा बसेर काम गरिरहेका प्रहरीहरुको बढुवा हुँदा उनीहरुको मनोवल उच्च भएको छ ।

तर, प्रहरीलाई काम गर्नका लागि आवश्यक पर्ने भवनको भने अवाव देखिएको छ । देशका १ हजार १ सय ५३ स्थानमा प्रहरी कार्यालय भवन छैन । प्रहरीको कार्यालय भवन नभएका कारण प्रहरीले अन्यत्रै बसेर काम गर्नु परेको छ । देशभर दुई हजार पाँच सय सातवटा प्रहरी इकाई छन् ।

नयाँ भवन निर्माणका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए पनि सरकारले वार्षिक ३८ करोडमात्र खर्च गर्दै आएको छ । यस वर्ष भने प्रहरीले भवन निर्माण गर्नका लागि ६० करोड रुपैयाँ छुट्याएको छ । उक्त रकमले अत्यावश्यक स्थानमा भवन बनाउने प्रहरी मुख्यालयकाे याेजना छ ।

प्रहरी प्रधान कार्यालयलका अनुसार प्रदेश नम्बर १ मा २ सय ३९ स्थानमा प्रहरी कार्यालय छैन भने ५८ स्थानमा प्रहरी कार्यालय स्थापना गर्नका लागि जग्गा नै छैन । प्रदेश नम्बर २ मा एक सय २२ स्थानमा प्रहरी कार्यालय भवन छैन । सो स्थानमा ७९ स्थानमा प्रहरी कार्यालय तथा ब्यारेकजस्ता पूर्वाधार तयार गर्न जग्गा नै नभएको बताइएको छ । प्रदेश नम्बर ३ र ४ मा १३३/१३३ स्थानमा कार्यालय भवन छैन भने प्रदेश नम्बर ५ मा १ सय ५६ स्थानमा प्रहरी कार्यालय भवन नभएको जानकारी दिइएको छ ।

यसैगरी प्रदेश नम्बर ६ को १३० र प्रदेश नम्बर ७ को ९६ स्थानमा प्रहरी कार्यालय भवन नभएको बताइएको छ । प्रदेश नम्बर ३ मा ८२, प्रदेश नम्बर ४ मा ७१, प्रदेश नम्बर ५ मा ९२, प्रदेश नम्बर ६ मा ६५ स्थानमा र प्रदेश ७ मा ३६ स्थानमा कार्यालय भवन बनाउने जग्गासमेत नभएको मुख्यालयले बताएको छ ।

Comments

Top