किन बढ्न सकेन कांग्रेसको जनमत ?

काठमाडौं। २००७ सालको क्रान्तिदेखि हरेक आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेको कांग्रेसको मत ०१५ सालको भन्दा बढ्न नसक्नु र अझ खस्किँदै जानुमा उसका शासकीय क्रियाकलाप बढी जिम्मेवार छन् । ०१५, ०४८ र ०५६ साल गरी तीनवटा चुनावमा कांग्रेसले बहुमत ल्याए पनि तीनवटै कार्यकाल राम्ररी चलाउन सकेन । ०१७ सालमा तत्कालीन राजाले कु गर्दा बहुदललाई राम्ररी चलाउन नसकेको आरोप लगाएका थिए तर त्यसबेला राजाको शासकीय महत्त्वाकांक्षाको सिकारमा कांग्रेस परे पनि ०४८ र ०५६ सालको चुनावबाट प्राप्त बहुमतलाई कांग्रेसले सदुपयोग गर्न सक्थ्यो तर गुटबन्दी र सरकार सञ्चालनमा एकपछि अर्को गल्ती गर्दै गयो । त्यसबाट वामपन्थी दलहरूलाई जनमत आफ्नोतर्फ ल्याउन उर्वर जमिन तयार भयो । ४८ सालको चुनावपछि बनेको पहिलो मन्त्रिपरिषद्बाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराई पक्षका ५ जना मन्त्री हटाएका थिए । त्यहींबाट झगडाको बीउ रोपियो । त्यसबाट कांग्रेसभित्र ‘छत्तिसे र चौहत्तरे’ समूह जन्मिए । २०५१ सालमा सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम पास गर्ने बेला महेन्द्रनारायण निधिलगायत कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भए । आफ्नै सांसद उपस्थित नभएकाले कोइराला सरकारले पेस गरेको नीति तथा तथा कार्यक्रम संसद्मा फेल भयो । कोइराला नैतिक संकटमा परे । आफ्नै दलको बहुमतको संसद् भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरे । त्यो घटनाले कांग्रेसलाई रक्षात्मक बनायो । त्यसैले ०५१ सालको चुनावमा उसको जनमत खस्केर ३३ प्रतिशतमा झर्‍यो भने संसद्मा ८३ सिट मात्र भयो । एमाले पहिलो दल बन्यो । ०५६ को चुनावमा कांग्रेसले ०४८ को बहुमत फिर्ता ल्याए पनि त्यो कार्यकाल पनि कुशलतापूर्वक सञ्चालन गरेन । ०५१ मा गुमेको साख फर्काउन ०५६ को चुनावमा कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईलाई अघि सारेको थियो । भट्टराईको मोहरा देखाएर बहुमत ल्याए पनि प्रधानमन्त्री बनेपछि उनलाई कांग्रेसभित्रको कोइराला खेमाले लामो समय काम गर्न दिएन । गिरिजाप्रसाद कोइराला भट्टराईलाई हटाएर आफैं प्रधानमन्त्री बने । त्यसबेला माओवादी आन्दोलन उत्कर्षमा पुग्दै थियो । माओवादीविरुद्धको कारबाही चलिरहेकाले रोल्पाको होलेरीमा माओवादीलाई कारबाही गर्न दिएको आदेश सुरक्षाकर्मीले नमानेपछि कोइरालाले ०५७ सालमा पदबाट राजीनामा दिए । त्यसपछि कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री मात्र बनेनन्, उनले माओवादी विरुद्धको संकटकाल लम्ब्याउने नाममा पार्टी फुटाउनेदेखि संसद् विघटन र शासन नै राजा ज्ञानेन्द्रका हातमा पुर्‍याउने काम गरे । तीनपटक पाएको बहुमत जोगाउन नसकेको यस्तो इतिहासले प्रत्येक पटकको चुनावमा कांग्रेसलाई लखेट्छ । शासकीय जिम्मेवारी कुशलतापूर्वक सञ्चालन गर्न नसकेका बग्रेल्ती घटनावलीसमेत चुनावअघि मतदाताका आँखामा झलझली देखा पर्दा कांग्रेसको जनमतको बढोत्तरी भएको छैन । ‘राम्रा काम पनि गरेको छ, तर कांग्रेस आफ्ना उपलब्धि देखाउन सक्दैन, कमजोरी प्रशस्त छन्, ती स्वतस् देखिन्छन्,’ विश्लेषक आचार्यले भने, ‘यही कारण उसको जनमत बढेको छैन, नेतृत्वको कार्यकुशलता छँदै छैन ।’

Comments

Top