के हो अन्डरवर्ल्ड डन दाउद र गोरे बीचको कनेक्सन ?

golddon

 काठमाडौं। वल्र्ड गोल्ड काउन्सिलले सन् २०१२ र १३ मा तयार पारेको तथ्यांकअनुसार भारतमा प्रत्येक वर्ष ८ सयदेखि ९ सय टन सुन खपत हुन्छ । त्यसमध्ये १ सय ४० देखि १ सय ६० टन सुन तस्करीबाट पूर्ति हुन्छ । यो सुन जहाजमार्फत दुबईबाट आउँछ । जसमा अधिकांश हिस्सा अन्डरवल्र्ड डन दाउद इब्राहिमको छ । तस्करीको सुनले बजार कब्जा गरेपछि भारत सरकारले फाइनान्स इन्टेलिजेन्ट युनिट (एफआइयु)मार्फत भन्सारमा कडाइ ग-यो । परिणामतः सन् ०१५ मा आएर भारतीय बजारमा तस्कारीको सुन कम पुग्न थाल्यो ।

 त्यसपछि तस्करले तस्करीका लागि वैकल्पिक मार्ग खोज्न थाले । यही क्रममा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको रोजाइमा प-यो । यसका लागि नेपाल हेर्ने उपयुक्त पात्रको खोजी भयो । गोरे उपनामका चुडामणि उप्रेती यही क्रममा उनीहरूको सम्पर्कमा आए । भरिया बनेर उनी तस्करीमा लागे । ५ जुलाई ०१५ देखि गोरेले दुबईबाट सुन तस्करी गर्ने गरेको छानबिन समितिको प्रतिवेदनले पुष्टि गरेको छ । लामो समय अपराध अनुसन्धानमा बिताएका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लसमेत विमानस्थलबाट तस्कर हुने सुनमा अन्डरवल्र्ड डनको हिस्सा हुन सक्ने दाबी गर्छन् । उनी भन्छन्, ‘सुन तस्करीमा अहिले प्रहरी जसरी गोरेको पछि लागेको छ, खासमा गोरे कोही पनि होइन । ऊ त भरिया मात्रै हो । तस्करीको सुनमा अन्डर वल्र्ड डन दाउद इब्राहिमसमेतको लगानी हुन सक्ने विषयलाई नकार्न सकिन्न । किनकि, उक्त सुनको डेस्टिनेसन भारत हो, जहाँ इब्राहिम विगतदेखि तस्करी गर्ने गर्छन् ।’अनुसन्धानमा खटिएका एक अधिकृतसमेत यो तथ्यलाई स्विकार्छन् । उनी भन्छन्, ‘भारत सुनको संसारकै ठूलो मार्केट हो, जहाँ प्रतिदिन सात सय केजी सुन तस्करीको बाटोबाट पुग्ने गर्छ । यसको मुख्य हिस्सा दाउदको देखिन्छ । नेपालको बाटो भएर तस्करी हुने सुनको डेस्टिनेसन पनि भारत नै हो ।

 सन् ०१५ देखि यसले तीव्रता पाएको देखिन्छ । त्यसो हुँदा नेपाल ट्रान्जिट बनाएर सुन तस्करी गर्ने दाउदकै समूह भएको केही आधार देखिन्छ । तर, ३३ केजी सुन तस्करीमा संलग्नमध्ये केहीको सम्पर्क दाउदसँग भएको सूचना हामीसँग छ । तर, उनीहरू फरार छन् । त्यसो हुँदा किटेरै भन्न सकिने अवस्था छैन । यसमा केही न केही भने पक्का छ ।’ हवाई मार्गबाट नेपाल भित्रिने एउटै नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नाका पार भए भारतका जुनसुकै स्थान सजिलै पुग्न सकिन्छ । किनकि, नेपाल–भारत नाका खुला छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल नाका सुरक्षाको हिसाबले कमजोर पनि छ । यही कारण तस्करको रोजाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको देखिन्छ ।‘पौडले समिति’को अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । त्यही भएर समितिले नाकास्थित सुरक्षा संयन्त्र मात्र नभई अध्यागमन, भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागलाई समेत जिम्मेवार बनाउनुपर्ने ब्रिफ्रिङ सरकारलाई गरेको छ ।

 अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘तस्करीलाई नेपालको सिस्टमले नै सहयोग गरेको देखिन्छ । यसलाई नसुधारेसम्म यस्ता खाले तस्करी रोकिँदैन । जस्तो, अहिलेसम्म तस्करीका जति पनि घटना बाहिर आएका छन्, ती सबै प्रहरीकै सक्रियताले आएका छन् । यसको स्टेक होल्डर त नाकामा बस्ने भन्सार, अध्यागमन, राजस्व पनि हो नि ।

 तर, उनीहरूले अहिलेसम्म कोही पक्राउ गरेको घटना बाहिर आएको छ रु त्यसो हुँदा अब यी सबै पक्षलाई जिम्मेवार बनाउनुप-यो । नत्र यस्ता तस्करी भइरहन्छन् ।’ दुबईमा सुनको प्रतिकेजी मूल्य ४५ लाख ३ हजार ७ सय रुपैयाँ छ । नेपाल आइपुग्दा त्यसको मूल्य ५० लाख १९ हजार २ सय २९ रुपैयाँ पर्छ । यो भन्सारसहितको मूल्य हो । तर, तस्करले नेपाली बजारमा प्रतिकेजी साढे ४८ लाख रुपैयाँमा बेचिदिन्छ । यसो गर्दा तस्करको हातमा ३ लाख ४६ हजार ३ सय रुपैयाँ पुग्छ । त्यसमध्ये तस्करले दुबईबाट नेपाल आउने जहाज टिकट, भरिया खर्च, भन्सारका एजेन्सीलाई कमिसन गरी बढीमा १ लाख २० हजार रुपैयाँ खर्च गर्छ । त्यसपछि २ लाख २६ हजार ३ सय रुपैयाँ बाँकी रहन्छ, जुन तस्करको खुद नाफा हो । (नयाँ पत्रीका)

 

Comments

Top