सन्दिपले पुरस्कारमा पाएको गाडी चलाउन नपाउने

sandeep car

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनी मच्चाएका नेपाली क्रिकेटर सन्दिप लामिछानेले उपहार पाएको कार चलाउन नपाउने भएका छन् । सन्दिपले लाइसेन्स नभएका कारण कार चलाउन नपाउने भएका हुन् । यातायात व्यवस्था विभागको नियमानुसार कारको चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ तर सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना मात्र भयो। तर, उनले केही समयका लागि ड्राइभर राख्ने तयारी गरेका छन् ।


गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर लामिछानेलाई टाटाको टिगोर दिएको थियो । यो बापत लामिछाने सिप्रदीको ब्राण्ड एम्बेसडर बनेका छन् । सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो।

यसैबीच सन्दिपले पाएको उक्त कारको कर पनि उनले तिर्नु नपर्ने भएको छ । नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ। कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएकाले उनले कर तिर्नु नपर्ने भएको हो ।

Comments

Top