नक्कली डाक्टर समात्ने सिआईवीका प्रहरी नै नक्कली

bogati and cib

काठमाडौं । नक्कली डाक्टर र पाइलटलाई पक्राउ गरी चर्चा कमाएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का प्रहरी नै नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा मुछिएका छन् ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआईवीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नकुलबहादुर वोगटीलाई विहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट माध्यमिक तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी बढुवा भई सेवामा बहाल रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बोगटीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लाभ समेत लिएको अख्तियारले पुष्टि गरेको छ । उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) द्वारा परिभाषित कसूर गरेको देखिएको भन्दै अख्तियारले उनलाई छ महिना देखि एक बर्षसम्म कैद र दश हजार देखि बीस हजार रूपैयाँ जरिवान हुने गरी माग दावी सहित मुद्दा दायर गरेको छ ।
अख्तियारले बोगटी विरुद्ध जेठ ४ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । स्रोतका अनुसार अख्तियारले मुद्दा दायर गरेपछि बोगटी सम्पर्क विहिन बनेका छन् । सिआईवीमा डिआईजी पुस्कर कार्की प्रमुख छँदा उनलाई अपराध महाशाखाबाट काज सरुवा गरी सिआईवीमा लगिएको थियो ।

उनले गुण्डागर्दी विरुद्धको सिआईवीको अप्रेसन र नक्कली डाक्टरदेखि पाइलटसम्मका अप्रेसनमा संलग्न भई काम गरेका थिए । बोगटी जेल भित्र रहेका गुण्डा नाइके समिरमान सिंह बस्नेतसँग समेत नजिक मानिन्छन् ।

Comments

Top