'सट्टेबाजी'को धन्दा चलाएको आरोपमा पूर्व फुटबलर अञ्जन केसी पक्राउ

anjankc

 काठमाडौँ । इन्डियन प्रिमियर लिगमा सट्टेबाजको धन्दा चलाएको आरोपमा पूर्व फुटबलर अञ्जन केसी पक्राउ परेका छन् । केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो  । केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

 यो समुहले संगठित रुपमा सट्टेबाजीको धन्दा चलाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

यसअघी म्याच फिक्सिङको आरोपमा  केसी पक्राउ परि विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए । ३५ वर्षीय केसी ललितपुर जिल्लामा सट्टेबाजीको मुख्य एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दावी छ। उनले भुपेन्द्र शम्शेर कुँवरसँग मिलेर जुवा खेलाउँदै आएका थिए। केसीले आफ्नो एकाउन्टबाट मात्र २ करोड ७७ लाख ५ हजार रुपैयाँसम्मको जुवा खेलाएको खुलेको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले भने केसी ललितपुर जिल्लाका मुख्य एजेन्ट भएको बताउँदै केसीले गौरव तिवारीसँग मिलेर जुवा खेलाउँदै आएको समेत बताए ।

थ्रीस्टार टिमका पूर्व खेलाडी केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। २०७२ साल कार्तिकमा उनी म्याच फिक्सिङमा समातिएका थिए।


जुवा खेलमा पक्राउ परेका मुख्य अभियुक्त भने गौरव तिवारी हुन्। उनी नेपालका मुख्य एजेन्टमा मानिन्छन्। यसबाहेक उनको सुन्धारमा रहेको सिभिल मलमा ‘१२ डी’ हल समेत संचालनमा छ। तिवारीको २४ वटा एकाउन्टबाट अहिलेसम्म ७ करोड १४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको फेला परेको छ। उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।  यो समूह सट्टेबाजका डन नागराज निकट मानिन्छ ।

Comments

Top