पार्टी एकीकरणमा धेरै सिनियर नेताहरू छुट्नुभयो

Krishna-Shaha-NCP

कृष्णा शाह, नेतृ– नेकपा तथा सांसद

०५७ सालदेखि तत्काली नेकपा (माओवादी)को पूर्णकालीन सदस्य भएर राजनीति शुरु गर्नुभएकी कृष्णा शाह कर्णाली प्रदेशको सांसद हुनुहुन्छ । पहिलो पटक जनप्रतिनिधि बन्नु भएकी शाहले सिंदरबारको अधिकार गाउँसम्म पु¥याउने भने पनि अझै धेरै कुरा सिंहदरबारको गेटबाट बाहिरिन नसकेको अनुभूति भइरहेको बताउनुहुन्छ । शाहको जनयुद्धकै बेला तत्कालीन माओवादी नेता रामदीप आचार्यसँग युद्धमै भेट भयो । त्यसपछि विवाह गर्नुभयो । लडाकुबाट कम्पनी कमाण्डर हुँदै नेवाः राज्यको सदस्य बनेकी शाह नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक कमिटीको सदस्य समेत बन्नुभएको थियो । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणले कर्णाली प्रदेशमा कस्तो प्रतिक्रिया छ भन्ने विषयमा प्रदेश सांसद समेत रहनु भएकी नेतृ कृष्णा शाहसँग काठमाडौंमा गरिएकाे कुराकानी ः

० पार्टी एकीकरणबाट तपाई कति खुसी हुनुहुन्छ ?
– ठूलो कम्युनिस्ट पार्टी बनेको छ । पहिला विभाजित भएर बसेका थियौँ । अझै पनि केही साना कम्युनिस्ट पार्टीहरू बाहिर छन् । सबैलाई मिलाउनु पर्छ । एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणबाट नेपाल कम्युनिस्ट पार्टी बनेको छ । खुसी नहुने त कुरै भएन नि !

० तपाई त खुसी हुनुहुन्छ । तल्लो तहका नेता कार्यकर्ता खुसी छन् कि छैनन् ?
– यसमा दुईवटा कुरा छन् । हामी किन जनयुद्ध लडेका हौँ भनेर प्रश्न पनि आइरहेका छन् । शहीद, घाइते र वेपत्ता परिवार हुनुहुन्छ । उहाँहरूको माग पनि सुनुवाइ हुनुपर्छ । गाउँका तल्लो तहका नेता कार्यकर्ताले जनुस्प्रिटमा पार्टी एकीकरण भएको छ त्यो स्प्रिट गाउँसम्म पुग्नुपर्छ । सबैलाई व्यवस्थापन गर्नुपर्छ । सबैलाई क्षमता र योग्यताअनुसार जिम्मेवारी दिनुपर्छ । कसैलाई काखा र पाखा गर्नु हुँदैन । समान व्यवहार भयो भने असन्तुष्टि हुने कुरै रहँदैन ।

० पार्टी एकीकरण त भयो एमाले र माओवादी केन्द्रका नेताहरू घुलमिल हुन सक्लान ?
– पहिला त हामी सबै कम्युनिस्ट बिचार मान्नेहरू हौँ । यद्यपि पार्टी एकीकरण अगाडि दुबै पार्टीले आ–आफ्नो सिद्धान्त मान्दै आएका थियौँ । अब राजनीतिक कार्यदिशा महाधिवेशनबाट टुंगो लगाउने शीर्ष तहमा सहमति भइसकेको छ । शीर्ष तहको निर्देशन र निर्णयलाई हामीले मान्नु पर्छ । घुलमिल गरेर देशको मुहार फेर्ने अर्को नयाँ मोर्चामा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्छ ।

० केही असन्तुष्टिका स्वरहरू पनि सुनिएका छन् । तपाईलाई जानकारी छैन ?
– केही असन्तुष्टि हुनु स्वभाविक हो । पार्टी एकीकरणमा तलका कार्यकर्तामा मात्रै होइन केन्द्रीय तहमा पनि असन्तुष्टि छन् । व्यवस्थापन नमिलेको भन्ने गुनासा मैले पनि सुनेको छु । तर पनि सबैले सहयोग गर्छन् । दुईवटा पार्टी मिलेकोमा म खुसी छु । एकतापछिको पार्टी र त्यसका नेता कार्यकर्तालाई मिलाएर लैजानुपर्छ । चित्त नबुझेका कुरालाई पार्टीभित्रै उठाउँदा राम्रो हुन्छ ।

० कर्णाली प्रदेश अर्थात प्रदेश नं. ६ का थुप्रै नेता सिनियर नेताहरू पार्टी एकीकरणका बेला जिम्मेवारीमा पर्नु भएन भन्ने सुनिएको छ हो ?
– हो । मभन्दा पनि सिनियर धेरै नेताहरू कर्णाली प्रदेशमा हुनुहुन्छ । उहाँहरू छुट्नु भएको छ । उहाँहरूलाई केन्द्रीय नेतृत्वले छुटाएको भनेर आलोचना भएको छ । जनयुद्धको विशेष भूमि भएको कर्णाली प्रदेशलाई बेवास्ता गर्दा त्यहाँका कार्यकर्ताको मन दुख्नु स्वभाविक हो ।

० निर्वाचनका बेला तपाईले जनतालाई के–के काम गर्छु भनेर बाचा दिनुभएको छ ?
– मैले प्रतिनिधित्व गर्ने जाजरकोट जिल्ला दुर्गम हो । त्यहाँको जनताका धेरै ठूला माग छैनन् । खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, बिजुली र रोजगारीको आसा गरेका छन् । मैले पनि जनताको आवाजअनुसार काम गर्ने हो । स्थानीय जनताका मागअनुसार मैले काम गर्न थालेको छु । प्रदेश सरकारबाट नीति तथा कार्यक्रम बनेका छन् । त्यसलाई कार्यान्वयन गर्नेछु । स्थानीय जनताका माग मेरा योजना हुन् । त्योभन्दा धेरै केही छैन । तर, आगामी पाँच वर्षभित्र जाजरकोट जिल्लामा रोजगारी सिर्जना हुने गरेर काम अगाडि बढाउने सोँच बनाएको छु । कामहरू सुरुवात गरेको छु । जाजरकोटको सबैभन्दा ठूलो समस्या गरिवी नै हो । अशिक्षा हो । यसलाई अन्त्य गर्नुपर्छ । यी विषय मेरा लागि चुनौतीपूर्ण छन् । गर्न नसकिने भने होइन ।

० जाजरकोट जिल्लालाई गरिवीबाट मुक्त गराउन कुनै उपाय छ कि ?
– उपाय धेरै छन् । पाँच वर्षमा धेरै गर्न सकिन्छ । जाजरकोट जिल्लामा भर्खरै भेरी नदीमा ¥याफ्टिङ सुरु भएको छ । यो पनि पर्यटनको सानो सुरुवात हो । जिल्लाको टालेगाउँमा काइनेटिक ढुंगा पाइन्छ । यसको उत्खनन् पनि भइरहेको छ । ठेकेदारहरूले जथाभावी रुपमा उत्खनन् गरिरहेका छन् । यसलाई व्यवस्थित बनाउने हो भने राजश्व पनि उठ्छ । रोजगारी पनि सिर्जना हुन्छ । हामी जनयुद्धका बेला जनमुक्ति सेनालाई काइनेटिक ढुंगा बिक्री गरेर पालेका थियौँ । काइनेटिक ढुंगा बिक्रीबाट अर्बौ रुपियाँ कमाइ हुन्छ । कृषिको आधुनिकीकरण, पर्यटन आदि विषयलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्छ ।

० कर्णाली प्रदेशको मुख्यमन्त्रीले प्रदेश सांसदको कुरा सुन्नु हुन्न भन्छन् नि ?
– त्यस्तो होइन । उहाँले हाम्रा कुरा सुन्नु हुन्छ । सांसदको कुरा नसुनेर एक्लै काम गर्ने अवस्था छैन । प्रदेशमा राम्रोसँग संयोजन र सरसल्लाह भइरहेको छ । प्रदेशमा हामीलाई समस्या छैन ।

० गाउँपालिका र प्रदेश सांसदको सम्बन्ध कस्तो छ ?
– प्रदेश सांसद र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूबीच धेरै नै समस्या छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सांसदसँग सल्लाह नै नगरेर काम गर्नुहुन्छ । हामीलाई केही कुरा सोध्नु हुँदैन । एक वर्ष भयो स्थानीय तहको निर्वाचन भएको । उहाँहरू र हामीबीच सम्बन्ध सुधार हुन सकेको छैन । यो समस्या जाजरकोटको मात्रै होइन देशभरिकै समस्या हो । यसलाई कसरी मिलाएर जाने भन्नेबारेमा चिन्तित छौं ।

० संघीय सांसद र प्रदेश सांसदबीच केही समस्या छ कि ?
– त्यस्तो केही समस्या छैन । बरु केन्द्रीय सरकारले प्रदेश सरकारलाई जति अधिकार दिनुपर्ने हो त्यो दिएको छैन ।

Comments

Top