अर्थमन्त्री दोबाटोमा हराएको यात्री जस्तो : डा. बाबुराम

baburam

   काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा. बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । पूर्व प्रधान तथा अर्थमन्त्री समेत रहेका डा. भट्टराईले बजेटमा सरकारको मुलुक सम्वृद्ध बनाउने दृष्टिकोण र प्राथमिकता निर्धारण स्पष्ट आउन नसकेको बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा २०७५/७६ को बजेटमाथि धारणा राख्दै उनले बजेटले मुलुकको आवश्यकता अनुसार मार्गचित्र कोर्न नसकेको दावी गरे । झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे। उनले बजेटले मुलुकको प्राथमिकताको सञ्जिवनी बुटी फेला पार्न नसकेको र सबैलाई छुने मात्रै प्रयास गरिएको बताए।

अर्थमन्त्री विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उनले भने–‘बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।’

डा भट्टराईले कर्मचारीको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने बताउँदै करको क्षेत्रमा पनि दर होइन दायरा बढाउनुपर्ने सुझाव दिए । ज्येष्ठ नागरिकका लागि पनि सरकारले निर्वाचनका बेला घोषणापत्रमा प्रतिबद्धता गरेको विषय पनि नआएको भनी आलोचना गरे ।

Comments

Top