अर्थमन्त्रीप्रति बोर्ड फस्टको अपेक्षा तर जस्ट पास मात्र : गगन

gagan

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडा बजेटमा ‘जस्ट’ पास भएको बताएका छन्।संसदमा बजेटमाथिको छलफलको क्रममा सांसद थापाले ‘बोर्ड फर्स्ट’को अपेक्षा भैरहेका बेला ‘जस्ट पास’ले नैराश्यता बढाएको बताए। उनले भने–‘बच्चा अनुतिर्ण हुन्छ भन्ने लागेकोलाई बच्चा पास भयो भने खुसी लाग्छ । तर, मेरो बच्चा ‘बोर्ड फर्स्ट’ हुन्छ भन्ने लागिरहेको बेला पास मात्र भयो भने खुसी लाग्दैन। हामीलाई यो बच्चाले ‘बोर्ड फर्स्ट’ नै ल्याउँछ भन्ने लागिरहेको अवस्थामा ‘जस्ट पास’ मात्र भएको अवस्थाले मेरो र थुप्रै साथीहरूमा नैराश्यता छाएको छ।’

उनले बजेटमा चार मुख्य कमजोरी औल्याउँदै उनले अब रिपोर्ट कार्ड पर्खिन अर्थमन्त्री युवराव खतिवडालाई आग्रह गरेका छन् । ‘वाम घोषणा पत्र हावादारी थियो, कम्युनिष्ट सरकारले ल्याएको नीति बरालिएको थियो । यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर पालिरहेकाहरुलाई यो बजेट घोषणाभन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेकाले सन्तोष मानेको पाइएको छ’ उनले भने ।

बजेटले आफूलाई निराश बनाएको भन्दै उनले बजेट चार ‘स’मा चुकेको थापाले औल्याए ।
पहिलोः स्पष्टता । संविधान कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएको भन्दै उनले भने, संघीयता कार्यन्वयनमा यो बजेटसँग अपेक्षा थियो विस्तृत दृष्टिकोणको, मार्गदर्शनको, रणनीतिको । तर, बजेट पूर्ण रुपमा चुकेको छ ।’ बजेटले वित्त व्यवस्थापनलाई आत्मसाथ गर्न नसकेको उनको आरोप छ ।

दोस्रोः समृद्धिको प्रयत्नमा स्पष्टताको अभाव । २०१५ र २०४८ मा जस्तै अहिले मार्गदर्शनको अपेक्षा गरोस् र बाषिर्क केही कार्यक्रमको किटानी होस् भन्ने अपेक्षा भएपनि बजेटले त्यसलाई पुरा गर्न नसकेको कांग्रेस सांसद थापाले बताए । अर्थमन्त्रीले पूर्वाधारलाई जोड दिएपनि कार्यक्रम छरिएकाले परीणाम दिन नसक्ने उनको दाबी गरे ।

तेस्रोः साहास । निर्वाचन क्षेत्र पूर्वधार कोषलाई नयाँ शीर्षक दिएर ल्याउन आवश्यक नभएको उनको दाबी छ । तर, यो संघीयताको मर्म विपरित भएपनि अर्थमन्त्रीले हटाउन साहस गर्न नएकेको उनले बताए । सांसद थापाले भने, मन्त्रीसँग पनि साहस गर्नु भएन । मन्त्रालयले दिएको अनावश्यक कार्यक्रम काट्न सक्नु भएन ।’ ऋण लिएर भएपनि कतिपय पूर्वाधारका कार्यक्रम सम्पन्न गर्छु भन्ने साहस पनि अर्थमन्त्रीले गर्न नसकेको उनले बताए ।

चौथोः सृजनशीलता । राजश्वको लक्ष्य ठूलो रहेको भन्दै सांसद थापाले कर बढाउनु स्वभाविक भएको बताए । अर्थमन्त्रीले करको दायरा बढाउनुको साटो दर बढाउने बाटो रोजेको उनको दाबी छ । विद्युतीय कारोबारको प्रयोग गरेर सकिने भन्दै उनले मेक्सिकोको सारी कार्यक्रमको उदारहण प्रस्तुत गरे ।

थापाले अर्थमन्त्रीप्रति लक्षित गर्दै भने–‘यति मात्र आग्रह गर्छु । अहिले तपाईले दाबी गर्न पाउनुहुन्छ । तर, एक वर्षपछि पास हो कि फेल भन्ने तपाई आफूले भन्ने होइन । यो पटक परीक्षा जनताले लिने हो । रिपोर्ट कार्ड हामीले पेश गर्ने हो । रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला ।’

Comments

Top