कूटनीतिक मर्यादा बिपरित चल्दै अमेरिकी राजदूत,रसुवा भन्सारबाट गोप्य सुचना संकलन

usrajdut

काठमाडौं । अमेरिकी राजदूत अलैना बी टेप्लिट्ज कूटनीतिक मर्यादा उल्लंघन गर्दै रसुवा भन्सारको निरीक्षणमा गएको विषयले गम्भीर रुप लिने भएको छ । चीनसंग जोडिएको रसुवा भन्सार टिमुरेमा राजदूत टेप्लिट्ज अचानक पुगेपछि भन्सारका प्रमुख गोपाल कोइरालालगायतका कर्मचारीहरु हतारहतार जम्मा भएर उनको स्वागत गरेको खबर छ । २०७५ जेठ १७ गते बिहान ९।३० बजे रसुवा भन्सार कार्यालयमा पुगेकी हुन् । राजदूत टेप्लिट्ज अकस्मात पुगेपछि रसुवा भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालालगायतले भन्सारको कार्यकक्षमा राखेर अमेरिकी राजदूतलाई ब्रिफिङ गरेको कर्मचारी स्रोतले  बताएको छ ।


भन्सार कार्यालयका प्रमुखले भंसार विभाग, अर्थ मन्त्रालय, पराराष्ट्र मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि देशका राजदूतलाई स्वागत, भंसारको अफिसियल जानकारी दिन र भेटघाट गर्न रोक लगाइएको छ । भन्सार विभागका महानिर्देशक तोयम रायसंग यस विषयमा जान्न खोज्दा उनले भने -'माथिल्लो निकायसंग अनुमति नलिई भन्सार कार्यालयका प्रमुख वा अन्य कर्मचारीले राजदूत भेट्न र भंसार सम्बन्धी कुनै पनि जानकारी दिन पाइंदैन ।’


१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले दुई महिनाअघि केन्द्र सरकारको अनुमति नलिई स्वीस राजदूतलाई भेटेको बिषयमा उनको आलोचना भएको थियो । तर रसुवाका भन्सार प्रमुख कोइरालाले अमेरिकी राजदूतलाई भेटेकोमात्र होइन, ब्रिफिङ गरेको बिषयले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत कूटनीतिक बृत्तमा चर्चा पाएको छ । भन्सारका कर्मचारीहरुले राजदूत टेप्लिट्जलाई ब्रिफिङ गरेको तस्विरसमेत सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । चिनिया बोर्डरको भंसार नाकामा कुनै निकायको अनुमति बिना राजदूतको भ्रमण हुनु, कूटनीतिक मर्यादा र सुरक्षाको दृष्टिकोणले समेत आपत्तिजनक मानिन्छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै चीन भ्रमणको चर्चा चलिरहेको समयमा नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जको सुटुक्क रसुवामा अध्ययन भ्रमण हुनलाई कूटनीतिक क्षेत्रले समेत सुरक्षा र कूटनीतिक हिसावले समेत मर्यादा विपरीत भन्ने टिप्पणी गरेको छ ।


यस विषयमा रसुवा भन्सार प्रमुख कोइरालासंग सम्पर्क गर्दा उनले भने–‘राजदूत टेप्लिट्ज अकस्मात भन्सारमा आएपछि जानुस् भन्न त मिलेन, अमेरिकी राजदूतले सोधेको कुराको जवाफ दिएका हौं, राजदूतले अनौपचारिकरुपमा रसुवा घुम्न आएको कुरा बताइन् ।’ बिदा हुने बेलामा ‘घुम्न आएको’ कुरा राजदूतले बताइन्’  भंसार प्रमुख कोइरालाले भने ।


अमेरिकी राजदूत भन्सार कार्यालयमा पुगेको बेलामा कुनै पनि कर्मचारीले औपचारिक पोशाक समेत नलगाई बसेको पाइएको छ । सरकारले कर्मचारीका लागि औपचारिक पोशाक तय गरेको छ र उनीहरुलाई मौसम अनुसारका पोशाकका लागि पोशाक भत्ता बार्षिक ७ हजार ५ सय रुपैया दिंदैआएको छ । तर कर्मचारीले भत्ता खाने तर पोशाक भने नलगाउने गरेको देखिएको छ । (सांघु साप्ताहिकबाट )

Comments

Top