सट्टेबाजीका एजेन्ट छुट्दा प्रहरीको मनोवल गिर्यो

sattebaji

  काठमाडौं । म्याच फिक्सिङ अर्थात ‘अनलाइन जुवा’ खेलाएको अभियोगमा पक्राउ परेका पूर्व राष्ट्रिय खेलाडी अन्जन केसीसहित ५ जना दुई सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । सट्टेबाजीका नाइके मानिएका भारतीय नागरिक नागराजका एजेन्ट रुपमा काम गर्दै आएका भुपेन्द्र शम्शेर कुँवरसँग मिलेर अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका केसीसहित गौरव तिवारी, भुपेन्द्र कुँवर, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ दुई÷दुई सय रुपैया धरौटमिा छुटेका हुन् । उनीहरुसँगै पक्राउ परेका दिनेश बोगटी सामान्य तारेखमा छुटेका छन् ।

कारोडौंको धन्दा चलाएका उनीहरु अदालतसँगको सेटिङमा छुटेपछि प्रहरीको मनोवल समेत गिरेको छ । एकातिर सुन तस्करीमा प्रहरीको संलग्नता भन्दै मुछिनु र अर्कोतिर कारोडौं रकमको सट्टेबाजी चलाएको पुष्टि हुँदा हुँदै पनि अदालतले यसरी दुई सय रुपैयाँ धरौटीमा छाड्दा प्रहरीको मनोवल गिरेको हो ।

‘गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । तर, अभियुक्तले नाम पोलेकै भरमा पूपक्षका लागि थुनामा राखेर प्रहरीमाथि नै कारबाही गर्दा प्रहरीको मनोवल कस्तो होला ? अनि अर्कोतिर प्रहरीले सट्टेबाजी जस्तो अवैध क्रियाकलाप गरेको अवस्थामा पक्रउ गरेकालाई नै अदालतबाट साधरण तारेखमा छाडिन्छ भने अब प्रहरीले कसरी काम गर्लन ?’ एक पूर्व प्रहरी अधिकृत प्रश्न गर्छन् ।

यसअघि १५ जेठमा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका क्रिकेट र फुटबलको लोकप्रिय म्याचहरुमा अनलाइन बेटिङ गरेर जुवा खेलाएको उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गर्दा केसीले आफ्नो अकाउन्टबाट मात्र २ करोड ७७ लाख ५ हजार रुपैयाँसम्मको जुवा खेलाएको खुलेको थियो। त्यष्सबेला काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले भनेका थिए–‘केसी ललितपुर जिल्लाका मुख्य एजेन्ट हुन्। उनी गौरव तिवारीसँग मिलेर जुवा खेलाउँथे।’

जुवा खेलमा पक्राउ परेका मुख्य अभियुक्त भने गौरव तिवारी भएको प्रहरीको दावी थियो । प्रहरीले तिवारीको २४ वटा एकाउन्टबाट अहिलेसम्म ७ करोड १४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको फेला परेको थियो । तर, उनीहरु आज दुई सय रुपैयाँ तिरेर छुटेका हुन् ।

Comments

Top