'रिप' र सुन काण्डले एसपी बढुवामा पछाडि परे पन्त र राठौर

ganga and rathaur

    काठमाडौं । डिएसपीबाट एसपीमा बढुवा हुँदा कतिपय प्रहरी अधिकारीहरु किन अगाडि परेनन् भन्ने बारेमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ । कतिपय प्रहरी अधिकारीहरु आईजीपीले कम नम्बर दिएर आफूहरुलाई पछाडि पारेको भन्दै मिडियाबाजी गरिरहेका छन् । तर, तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा गर्दा उनीहरु तलमाथि परेका हुन् ।

प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको थियो । उक्त नियमावली अनुसार १०० नम्बरमध्ये कार्यसम्पादन मूल्याङ्कन वापत ४०, ज्येष्ठता वापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापत ८, शैक्षिक योग्यता वापत १०, तालीम वापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत ५, विभूषण (मानपदवि, अलंकार तथा पदक) वापत २ र बाँकी ७.५ अंक भने बढुवा समितिले दिने नियम छ ।

बढुवाका आकांक्षी ४८ जना डीएसपी भए पनि एसपीको पद २८ मात्र खाली भएको हुँदा सबैको बढुवा हुन सकेन । बढुवा सूचीमा एक नम्बरमा परेका अच्यूत पुडासैनी कर्मचारी प्रशासन शाखामा बसेर राम्रो काम गरेर छानिएका हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका बडिगार्ड डीएसपी सानुराम भट्टराई सक्षम भएरै चार नम्बरमा आएका हुन् ।  महाराजगन्ज प्रहरी बृतमा रहँदा भट्टराईले मिर्गौला तस्करीको गिरोहलाई कानुनी कठघरामा ल्याउन सफल भएका थिए। त्यस्तै कैलालीमा डिएसपी छँदा पनि राम्रो काम गरेर उनले उत्कृष्ट पुरस्कार पाएका थिए। 

वरियताक्रममा एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त १५, बसन्त रजौरे २६, सोमेन्द्रसिंह राठौर ९, प्रवीण पोखरेल २३ र भूपेन्द्रबहादुर खत्री १४, नम्बरमा परेका छन् । तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पूर्व आईजीपीद्धय उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालले उनीहरुलाई दिने नम्बरमा तलमाथि गरेका थिए । हालको बढुवा समितिले दिन मिल्ने ७.५ नम्बर थियो । राठौर, पन्त, पोखरेललगायतलाई उच्च अंक दिंदा पनि उनीहरु पछि परेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

यिमध्ये हाल चर्चा ल्याइएकी पन्तले ज्युँदै रहेका नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवालाई तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रकरणमा फेसबुकमा RIP ‘रिप’ भनेर कमेन्ट लेखेपछि उनलाई प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको थियो ।

कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि महाअभियोगका पक्षमा अमित सिहं कार्कीले फेसबुकमा लेखेको स्टाटसमा गंगाले प्रचण्ड र देउवालाई श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् । त्यस्तै, पर्वतमा डिएसपी छँदा क्रसर र रोडा ढुंगाको घोटलामा उनी विरुद्ध प्रहरीले छानविन समिति नै बनाएर कारबाही स्वरुप सचेत गराएको थियो ।

त्यसैगरी महानगरीय प्रहरी बृत सोह्रखुट्टेमा प्रमुख छँदा चेन अफ कमाण्ड नै कमजोर बनाएको घटनाले राठौरमाथि सचेत गराइएको थियो । राठौरका चालक सहित तीन जना प्रहरीले न्यूरोडस्थित एक गहना निर्माण कारखानाबाट करिव ७० तोला सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्न सिआरभी भ्यान चालक प्रहरी हवल्दार अजय गुरुङ पक्राउ परेपनि मुख्य अभियुक्त प्रहरी हवल्दार बलबहादुर थापामगर र बृतको लेखा शाखामा काम गर्ने प्रहरी नविन ढकाल फरार भएका थिए ।

राठौरमाथि उनीहरुलाई पक्राउ गर्न भन्दा पनि भगाउन सहयोग गरेको आरोप लागेको थियो । राठौरले थापामगरलाई हुन्डी र डलर कारोबारीको सूचना संकलनमा खटाएर अबैध रुपमा त्यस्ता कारोबारीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलेको थियो । हाल अपराध महाशाखामा रहेका राठौरले एक बद्नाम सईलाई भित्र्याएका छन् । 

Comments

Top