धरौटीमा छुटे व्यवसायी सुधिर बस्नेत

sudhir basnet

   काठमाडौं। घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा जेल चलान भएका सुधिर बस्नेत धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागारको थुनामा रहेका बस्नेत सोमबार धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि छुटेका हुन् । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको अर्वौँ निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ । तर, उनले पटक–पटक ऋण तिर्छु भन्दा पनि उनलाई जेल हालिएको थियो ।

Comments

Top