गोरे र डिएसपी केसीसँग ५० लाखको डिल मिलाउने बिचौलिया तिवारी पक्राउ

ramtiwari

 काठमाडौं । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके  चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ परेका छन् । प्रहरीले  तिवारीलाई दक्षिण कोरियाबाट फर्किएका बेला एयरपोर्टबाट पक्राउ गरेको हो ।

 सुन प्रकरण र सनम हत्याका लागि गठित गृह मन्त्रालयको बिशेष छानविन समितीले भोलीबाट तिवारीमाथि अनुसन्धान थाल्ने छ। तिवारीलाई आज गौशाला प्रहरीमा राखिएको छ । डीएसपी प्रजित केसी र गोरेको टेलिफोन सम्बादमा तत्काल ५० लाख भुक्तानी दिने ब्यक्तिका रुपमा तिवारीको नाम लिइएको थियो ।

 डिएसपी प्रजित केसी,सई बालकृष्ण सन्जेल र गोरेबीच भएको टेलिफोन बार्तामा पटक-पटक गोरेले तिवारीको नाम लिएका थिए । तिवारीसँग भेट्न केसीलाई गोरेले आग्रह गरेका थिए। तिवारीसँग भेट्नुको उदेश्य नै गोरेले केसीलाई पैसा मिलाउनु रहेको बुझिन्छ । 

 तिवारी  न्यायाधीशहरुलाई सेटिङ मिलाएर मुद्दा जिताउने र हराउने काममा खप्पिस मानिन्छन  । गोरेले समेत तिवारीलाई मुद्दा मिलाउने काममा प्रयोग गर्दै आएका थिए । काभ्रे जिल्ला, मेथिनकोट, चरुवाका (हाल नमोबुद्ध नगरपालिका) तिवारीले नेपाल बंलादेश बैंकको आर्थिक घोटाला काण्डमा फसेका लक्ष्मीबहादुर श्रेष्ठको मुद्दा समेत अदालतबाट सेटिङ मिलाएर जिताएका थिए ।

 स्रोतका अनुसार मुद्दा मिलाउने क्रममा करोडौंको लेनदेन भएको थियो । तिवारी यसअघि नक्कली लाइसेन्स काण्डमा पक्राउ परी जेलको सजाय काटिसकेका ब्यक्ति हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले मुद्दा चलाएको थियो ।

Comments

Top